चारपालामा रक्तदान तथा सांस्कृतिक कार्यक्रम

बुटवल, माघ १६
बुटवल–१४ तामनगर स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहमा शनिबार रक्तदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । चारपालाले २०५९ सालदेखि हरेक वर्ष सहिद दिवसको दिन माघ १६ गते रक्तदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा झण्डै एक सय जनाले रक्तदान गरेको समूहले जनाएको छ । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका जिल्ला वन अधिकृत रोमराज लामिछानेले सामुदायिक वनहरु सामाजिक उत्तरदाहित्वका काममा पनि क्रियाशील रहनुपर्ने बताए ।
सामुदायिक वनका अध्यक्ष रामबहादुर पुनको अध्यक्षता, सचिव दुर्गा पाठकको सञ्चालनमा रहेको रक्तदान तथा सांस्कृतिक कार्यक्रमको संयोजन उपाध्यक्ष रामकुमारी पौडलले गरेकी थिइन् । सो अवसरमा रक्तदान तथा सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । चारपाला क्षेत्रफलका हिसाबले मुलुककैं दोस्रो ठूलो वन समूह हो । यो समूहमा मुलुकमैं सबैभन्दा बढी उपभोक्ता छन् ।

LEAVE A REPLY