औद्योगिक व्यापार मेलाको तयारी ७० प्रतिशत सकियो ।

भैरहवा कात्तिक २१
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधकरण भन्ने नाराका साथ यही कार्तिक ३० गते देखि मंसिर ११ गते सम्म भैरहवामा हुने चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७४ को तयारी तीव्र रुपमा अगाडी बढेको छ ।
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा हुन लागेको महोत्सवको करिब ७० प्रतिशत तयारी पुरा भएको संगठनले मंगलबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले यस पटकको मेला विगतको भन्दा फरक प्रकृतिको रहने बताए । उनले मेलामा मुल गेट ड्रागन शैलीको रहने बताए । भण्डारीले विशेष गरी दक्षिणी क्षेत्रको वासिन्दाहरुलाई मेलामा ल्याउन भोजपुरी कलाकारको प्रस्तुती तथा कुस्ती प्रतियोगिता समेत राखिएको बताए । उनले मेलामा ३ सय ५० वटा स्टल राखिने समेत जानकारी दिए ।
त्यस्तै संगठनका उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका सह–संयोजक गिरीशचन्द्र त्रिपाठीले मेलामा ३ लाख दर्शक भित्रयाउने र करिब ६० देखि ६५ करोडको कारोबार हुने अपेक्षा गरिएको बताए । सांस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका त्रिपाठीले महोत्सवमा दर्शकको माग अनुसारकै कलाकारको व्यवस्था गरिएको बताए । उनले आधुनिक कलाकारहरु कमल खत्री, काली प्रसाद बास्कोटा, सुगम पोखरेल, प्रमोद खरेल, बिरेन्द्र अग्रहरी, माण्डवी त्रिपाठी, हिमाल सागर, राजन तिमिल्सिना, राजनराज सिवाकोटी, अल्मोडा उप्रेती, लोक तथा दोहोरी गायकहरुमा शिरिष देवकोटा, रामजी खाँण, नविन पौडेल, कृष्णा गुरुङ, पशुपती शर्मा, बैकुण्ठ महत, दिपक दिलदार, पवन पाण्डे र पुनम पाण्डे लगायतका भोजपुरी कलाकारहरुको पनि प्रस्तुती रहने जानकारी दिए ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम पाठकको प्रमुख आतिथ्यता तथा महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, संस्थापक अध्यक्ष मनिष कुमार जोशी, सचिव दर्पण श्रेष्ठ, कोषाध्यक्ष सचिन रोक्का लगायतको उपस्थिीति रहेको थियो ।

LEAVE A REPLY