औद्योगिक व्यापार मेलाको तयारी अन्तीम चरणमा, मेलास्थल आकर्षक बन्दै

भैरहवा,कात्तिक २४ ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधकरण भन्ने नाराका साथ यही कार्तिक ३० गते देखि मंसिर ११ गते सम्म भैरहवामा हुने चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७४ को तयारी अन्तीम चरणमा पुगेको छ । उद्योग व्यापार संगठन रुपन्देहीले आयोजन ागर्न लागेको महोत्सवको तयारी अन्तीम चरणमा पुग्दै गर्दा महोत्सवस्थलपनि आकर्षक बन्दै गएको छ । स्टल बुकिङ र प्रायोजकहरुको काम समेत अन्तिम बिन्दुमा पुगेको आयोजकको भनाइ छ ।
म्ोला स्थलमा निर्माण कार्य संचालनसंगै मेला संचालन हुनु ५ दिन अगाडि नै करीब ३ सय स्टल बुकिङ भईसकेको स्टल व्यवस्थापन संमितिका संयोजक एवम् संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले बताए ।
हाल मेला स्थलमा मुल गेट, नेपालमै पहिलोपटक ड्राइगनको मुखाकृत प्रबेसद्वार, स्टल, स्टेज, मायाँदेवी मन्दिर निर्माणका कामहरु अन्तिम चरणमा पुगेको र अब सजावटको मात्र काम बांकी रहेको आयोजकको भनाइ छ । करीब ८० प्रतिशत निर्माणको काम सकिएको र २८ गतेसम्म सम्पुर्ण काम सम्पन्न गरी स्थल मेलाका लागि तयारी अवस्थामा पुग्ने निर्माण उपसमितिका संयोजक लक्ष्मण भण्डारीले बताए ।
संगठनले मेलालाई व्यवस्थित वनाउनका लागि मंसिर २१ गतेदेखि नै संगठनका सम्पुर्ण कार्यलयगत कामहरु मेला सचिवालयबाटै संचालन गरिरहेको छ । दर्ता, नविकरण लगायतका काम समेत मेला सचिवालयबाटै संचालन गरिएको मेला सचिवालय संयोजक तथा संगठनका महासचिव अनिल ज्ञवालीले बताए । महोत्सवको उद्घाटनको लागि अतिथिहरु निमन्त्रणको कामलाइ समेत सुरुवात गरिएको उनले बताए ।
३ सय ५० वटा स्टल राखिने मेलामा ३ लाख दर्शक भित्रयाउने र करिब ६० देखि ६५ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सवमा दर्शकको माग अनुसारकै कलाकारहरु कमल खत्री, काली प्रसाद बास्कोटा, सुगम पोखरेल, प्रमोद खरेल, बिरेन्द्र अग्रहरी, माण्डवी त्रिपाठी, हिमाल सागर, राजन तिमिल्सिना, राजनराज सिवाकोटी, अल्मोडा उप्रेती, लोक तथा दोहोरी गायकहरुमा शिरिष देवकोटा, रामजी खाँण, नविन पौडेल, कृष्णा गुरुङ, पशुपती शर्मा, बैकुण्ठ महत, दिपक दिलदार, पवन पाण्डे र पुनम पाण्डे लगायतका भोजपुरी कलाकारहरुको पनि प्रस्तुती रहने छ । साथै महोत्सवमा जिल्ला स्तरिय खुल्ला नृत्य प्रतियोगिता, सेल्फी स्पेस, जिल्ला स्तरीय फेसन स्व, साँझको समयमा चर्चित कलाकारहरुको साथमा डिजे डान्स, उँटको नाच, महिला र पुरुषहरुको कुस्ती प्रतियोगिता समेतको व्यवस्था गरिएको प्रचार प्रसार संयोजक कृष्ण गुरुङले बताए ।

LEAVE A REPLY