भैरहवा जारी महोत्सव सम्पन्न , १५ करोड कारोबार

भैरहवा मंसिर ११
उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा भैरहवामा संचालित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव १५ करोड आर्थिक कारोबार गर्दै सोमबार सकिएको छ ।
‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र : राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नारा सहित कार्तिक ३० गतेदेखि सञ्चालित मेला करिब डेढ लाख दर्शकले अवलोकन गरेका छन् । मेलाको सोमबार एक औपचारिक समारोहका बीच पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले समापन गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई स्मार्ट शान्ति शहरको रुपमा विकास गर्न सकिने बताए । उनले भैरहवा ऐतिहासिक र पुरानो ब्यापारिक केन्द्र भएको उल्लेख गर्दै बेलहिया लगायतका भन्सार नाकाहरु व्यवस्थित गर्नुपर्ने, निर्माणाधीन गौतमबुद्ध विमानस्थल र बेलहिया–बुटवल ६ लेन सडक छिटो पूरा गर्नुपर्नेमा जोड दिए । मुलुकमा तिब्र आर्थिक विकासका लागि पुंजी परिचालन गरेर उद्योग, व्यवसायमा लगानी गर्नुपर्ने बताउंदै अध्यक्ष ओलीले निर्वाचन पछि बन्ने सरकार स्थिर र स्थायी हुन जरुरी रहेको बताए । विकास निर्माणका कार्य सञ्चालनका लागि सस्तो दरमा ऋण लिएर र बैदेशिक सहयोग जुटाएर बजेटको कमी हुन नदिने नीति एमालेको रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले तोकेको दिगो विकास लक्ष्य पूरा गर्न तीब्र औद्योगिकरण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकास प्रेमी सरकार बनाउन सबै उद्योगीलाई सहयोग गर्न उनले आग्रह गर्दै राजनीतिक स्थायित्व नहुादा संविधान जारी भएपनि विकास र समृद्धिका काम गर्न नसकेको टिप्पणी गरे ।
मेला महोत्सवहरु संचालन गर्न सरकारले स्थायी जग्गा र संरचनाहरुको व्यवस्था गर्नुपर्ने पनि ओलीले बताए । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र बनाउन देशभित्रको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले उद्योगी व्यवसायीका समस्या दीर्घकालीन रुपमा हल गर्नका लागि स्थिर सरकार आवश्यक पर्ने भएकाले आगामी मंसिर २१ गते हुने निर्वाचनमा विवेक प्रयोग आग्रह गरे ।
मेला आयोजक समितिका संयोजक नारायणप्रसाद भण्डारीले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता बृद्धि, रुपन्देहीमा उद्योग,ब्यापार,कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित मेला आयोजना गरिएको बताउंदै भैरहवामा स्थायी मेला स्थल र स्थायी संरचना नहुंदा मेला संचालन गर्न ज्यादै कठिन भएको उल्लेख गर्दै स्थायी मेला स्थलको जग्गा उपलब्ध गराउन सरकार र मुख्य दलहरुको ध्यान जानुपर्ने बताए । अध्यक्ष भण्डारीले गुणस्तरीय विद्युतको अभावमा विशेष आर्थिक क्षेत्र सेज दुईपटकसम्म उद्घाटन भएर पनि संचालनमा आउन नसकेको भन्दै १३२ केभीए प्रशारण लाइन यथाशीघ्र जडान गर्न,चर्को बैंक ब्याज दर घटाउन, उद्योग व्यवसाय मैत्री नीति ल्याउन र लुम्बिनीलाई शान्ति शहरको रुपमा विकास गर्न माग गरे ।
समापन समारोहमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, आयोजक संगठनका उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठी, महासचिव अनिल ज्ञवाली लगायतले बोल्दै स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा मेलाले टेवा पुर्‍याएको धारणा राखे । समापन समारोहमा सहआयोजक संस्था,मेला आयोजक मूल समिति र विभिन्न उपसमिति संयोजकहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । मेलामा उद्योग, ब्यापार,होटल/रेष्टुरां,सूचना प्रविधि , अटोमोबाइल्स, कृषि, पर्यटन र संघसंस्था तथा प्रायोजकका गरी करिब चारसय स्टल रहेका थिए । मेलाको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका,घरेलु तथा साना उद्योग कार्यालय काठमाडौ, कृषि व्यावसायी प्रवद्र्धन केन्द्र ललितपुर, पशु व्यावसायी प्रवद्र्धन केन्द्र ललितपुर र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड , मुख्य प्रायोजकमा बोधी रेडिसन होटल बसन्तपुर रुपन्देही, तथा प्रायोजकमा एस आर ग्रुप, सहप्रायोजकमा अर्घाखााची ओ.पि.सि. सिमेन्ट र आधिकारीक बैंकमा एन आई सी एसिया बैंक लि. रहेका थिए ।

LEAVE A REPLY