जेसीज महाधिबेशनमा छोरा प्रकाशलाई संझिए प्रचण्डले , तपाईहरु सबै मेरो प्रकाश हो अब प्रकाश भएर उज्यालो छर्नु

दिपेश पछाई
भैरहवा पुस ८
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले जेसिजमा आबद्ध युवाहरुलाई प्रकाश भएर काम गर्न आग्रह गरेका छन् ।
नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशनको शनिबार भैरहवामा उद्धघाटन गर्दै प्रचण्डले जेसीजका युवाहरुले प्रकाश जस्तो उज्यालो भएर काम गर्ने बेला आएको बताए । दिवंगत छोरा प्रकाश दाहललाई स्मरण गर्दै भावुक बनेका प्रचण्डले भने– ‘केही समय अघि निर्वाचनकै मुखमा मैले छोरा प्रकाशलाई गुमाए, तपाईहरु सबै मेरा लागि प्रकाश हो, उज्यालो छर्नुस्, प्रकाश जस्तै भएर काम गर्नुस् ।’
जेसीजमा लागेका युवाहरु अनुसासित, लगनशील, जुझारु र क्षमतावान हुने बताउदै प्रचण्डले देश विकास र आर्थिक समृद्धिमा लाग्न जेसीज युवाहरुलाई आह्वान गरे । उनले स्वदेशमा रोजगारीको अवसर नपाउदा सयौं युवाहरु विदेश पलायन हुने समस्या जगजाहेर रहेको औल्याउदै अब स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताए ।
लामो समय देश संक्रमणकालीन अवस्थाबाट गुज्रेकाले युवा शक्तिमा वितृष्ण पैदा भएको बताउदै अध्यक्ष प्रचण्डले अब देशमा तीन तहको निर्वाचन सम्पन्न भइसकेको र जनताले पनि बामगठबन्धनलाई म्यान्डेट दिएकाले सोहीअनुसार काम गर्ने बेला आएको बताए । ‘हाम्रासामु जनताले ठुलो अपेक्षा गरेका छन्, बहुमत दिएका छन्, यदि हामीले सही ढंगले विकास र आर्थिक समृद्धिका म्यान्डेटलाई अगाडि बढाउन सकेनौं भने फेरि देश पुरानै शैली र पद्दतीमा जान्छ’, प्रचण्डले भने– ‘जनमतलाई कदर गर्दै हामी अब देश विकास गर्न चाहन्छौं ।’
गौतमबुद्धको जन्मस्थल लुम्बिनी विकासको सूत्र भएको बताउदै प्रचण्डले लुम्बिनी र रुपन्देहीको विकासलाई सगसगै अगाडि बढाउन सके मात्रै आर्थिक समृद्धिको सपना पुरा हुने बताए । बिगतका घटनाक्रमहरु बाट धेरै कुराहरु सिकिएको बताउदै मुलुकको समृद्धीका लागी अब एक भएर काम गर्ने बेला आएको उनले बताए ।
कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहराले जेसीजको विधिलाई जसरी युवाहरुले अंगीकार गरेका छन्, त्यसैगरी आर्थिक समृद्धिका मुद्धाहरुलाई पनि अंगीकार गर्नु पर्ने बताए । राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष समेत रहेका बोहराले मुलुकको विकास गर्न युवाहरुको ठूलो भूमिका रहने बताउदै जेसीज महाधिवेशनले आगामी दिनमा युवाहरुको नेतृत्व विकास सगसगै आर्थिक विकासका मुद्धालाई प्राथमिकता दिने विश्वास व्यक्त गरे ।
नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारीले राजनीतिक अस्थिरताका कारण केही गछौं भन्ने युवाहरुलाई स्वदेशमा प्राप्त अवसर नभएको बताए । उनले तीनै तहको निर्वाचन सम्पन्न भइसकेकाले अब देशमा राजनीतिक अस्थिरता हट्ने आशा पलाएको बताउदै जेसीको विधि, विधान र मान्यतालाई मनन् गर्दै दलहरुले पनि सोही अनुसार काम गर्नु पर्ने धारणा राखे । कार्यक्रममा जेसिज सिदार्थनगरका अध्यक्ष सुमन शर्माले जेशिजको महाधिबेशन भैरहवामा गर्न पाउदा यस क्षेत्रको पर्यटन ब्यावसायमा थप टेवा पुगेको बताए । महाधिवेसन निर्देशक महेन्द्र कुमार श्रेष्ठले कार्यक्रमको उदेश्यका बारेमा प्रष्ट पारेका थिए । सो अवसरमा बिबिध क्षेत्रमा काम गर्नेहरुलाई जेसिजले पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।
८, ९ र १० गते गरी तीन दिनसम्म चल्ने जेसीज महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब ३ हजार बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन् । अधिवेशनले आगामी कार्यकालका लागि नया नेतृत्व चयन गर्ने छ ।

LEAVE A REPLY