सिद्धार्थनगरमा प्रथम मेयर कप सुरु

भैरहवा, १७ माघ ।
सिद्धार्थनगर नगरपालिको आयोजनामा बुधबारबाट प्रथम मेयर कप सुरु भएको छ । जनप्रतिनीधिले स्थानीय सरकारको नेतृत्व गरेसंगै नगरमा खेल क्षेत्रको विकास गर्ने उद्देश्यले मेयर कप आयोजना गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । “सिद्धार्थनगरको चाहाना खेलकुद मार्फत् स्वस्थ र अनुशासित नागरिकको कामना” भन्ने नाराका साथ सुरु भएको मेयर कपको उद्घाटन रुपन्देही क्षेत्र नं. ३ (१) का सभासद सन्तोष पाण्डेले गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै पाण्डेले रुपन्देहीलाई खेलकुद क्षेत्रको हव बनाउने बताए ।

मेयर कप अन्तर्गत आजबाट एथलेटिक्स अन्तर्गतका खेलकुद सुरु भएका छन् । आज भएको १५ सय मीटर दौडमा छात्रतर्फ भैरहवा नमूना मावि प्रथम, जेसीज किर्नडर कार्डेन द्वितीय र पश्चिमाचल बोर्डिङ स्कूल तृतीय भएको छन् भने छात्रातर्फ आदर्श विद्या मन्दिर प्रथम, मनकामना बोर्डिङ द्विती र भैराव नमूना तृतीय भएको छ । एक सय मीटर दौडमा आदर्श विद्या मन्दिर प्रथम, पक्लिहवा मावि द्वितीय र युनिभर्सल बोर्डिङ तृतीय भएका छन् भने छात्रातर्फ भानु मावि प्रथम, आदर्श विद्या मन्दिर द्वितीय र पश्चिमाञ्चल वोर्डिङ तृतीय भएको छ । यस्तै ४ सय मीटर दौडमा पक्लिहवा मावि प्रथम, मनकामना बोर्डिङ द्वितीय र मुनलाइट बोर्डिङ तृतीय भएको छ भने छात्रातर्फ आदर्श प्रथम, युनिभर्सल द्वितीय र पक्लिहवा तृतीय भएको छ ।
सटपुटमा छात्रतर्फ मुनलाइट प्रथम, भैरहवा नमूना द्वितिय र युनिभर्सल तृतीय भएको छ भने छात्रातर्फ भानु प्रथम, सिवि पब्लिक बोर्डिङ द्वितीय र जेसिज तृतीय भएको छ । लङजम्पमा छात्रतर्फ युनिभर्सल प्रथम, आदर्श द्वितिय र पक्लिहवा तृतीय भएको छ भने छात्रातर्फ युनिभर्सल प्रथम, आदर्श द्वितीय र मनकामना तृतीय भएको छ ।

एक सय इन्टु चार रिले दौडमा छात्रतर्फ जेसीज प्रथम, युनिभर्सल द्वितीय र बुद्ध ज्योति बोर्डिङ तृतीय भएको छ भने छात्रातर्फ आदर्श प्रथम, जेसीज द्वितीय र अमर ज्योति बोर्डिङ तृतीय भएको मेयर कप संयोजक तथा वडानम्बर पाँचका वडाअध्यक्ष चेतबहादुर क्षेत्रीले बताए । एथलेटिक्स अन्तर्गत बिहीबार दुईसय मिटर, आठसय मिटर, तीनहजार मिटर, हाईजम्प, ज्याभलिन थ्रो खेलहरु हुनेछन् भने यही माघ २० गतेदेखि २७ गतेसम्म क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगिता स्थानीय सिद्धार्थ रंगशालामा भइरहेको छ । एथिलेटिक्समा प्रथम हुनेले २५ हजारसहित रनिङ शिल्ड तथा शिल्ड, द्वितीय हुनेले १५ हजार नगदसहित शिल्ड र तृतीय हुनेले १० हजारसहित शिल्ड प्राप्त गर्नेछन् । यस्तै पुरुष तथा महिलातर्फ सर्वाधिक अङ्क ल्याउने प्रत्येक खेलाडीलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
क्रिकेटमा विजयी टिमले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरिजले नगद १० हजार र म्यान मफ द म्याचले दैनिक ५ सय प्राप्त गर्ने छन् । यसअघि उद्घाटन सत्रमा मन्तव्य राख्दै उपप्रमुख उमा काफ्लेले खेलसँगै नगरको समग्र विकास गर्न आफूहरु सधै लागि पर्ने बताइन् । कार्यक्रको संचालन सामाजिक विकास अधिकृत यादव सापकोटाले गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष, बोर्ड सदस्य, विभिन्न विद्यालयका प्राचार्य, समाजसेवी, खेलकुदप्रमीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY