प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट सुरु

उद्घाटन खेलमा लुम्बिनी खुकुरी र तिरुपति विजयी

भैरहवा, माघ २०.
भैरहवामा शनिबारबाट प्रथम मेयर कप टि–२० रनिङ क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा स्थानीय सिद्धार्थ रंगशालामा क्रिकेट सुरु भएको हो ।
शनिबार भएको पहिलो खेलमा लुम्बिनी खुकुरी क्लबले लर्डबुद्ध युथ क्लबलाई ९ विकेटले हराउँदै विजयी भएको छ । टस जितेर व्याटिङ गरेको लर्डबुद्धले निर्धारित खेलमा १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६७ रन बनायो । उसका लागि सुगम थापाले ११ रन बनाए पनि अन्य ब्याट्सम्यान खुकुरीका बलर सामु टिक्न सकेनन् । बलिङमा खुकुरीका साहव आलमले ३ दशमलब ४ ओभर खेल्दै १४ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच समेत घोषित भए । जवाफी ब्याटिङमा उत्रिएको खुकुरीले ११ दशमलब १ बलमा लक्ष्य पुरा ग¥यो । उसका लागि शौरभ खनालले नटआउट २१, शंकर रानाले १९ र अन्तिम थापाले नटआउट १८ रनको योगदान दिए ।
यस्तै शनिबारै भएको अर्को खेलमा तिरुपति क्रिकेट क्लबले बुम एमसिसी क्रिकेट क्लबलाई १५ रनले हराउँदै विजयी विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित खेलमा सबै विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । उसका लागि नरेश चनले सर्वाधिक नटआउट ४४ रनको योगदान दिए । अजय कौशिलाले ३३ र देव खनालले १८ रन बनाए । बलिङमा बुम एमसिसीका रमेश कुर्मीले ४ विकेट लिए ।
जवाफी ब्याटिङमा बुम एमसिसीले निर्धारित खेलमा ८ विकेट गुमाई १ सय १५ रन मात्रै बनायो । उका लागि युदिश ज्ञवालीले १८, शुसान्त थापाले १८ र सुमन पाण्डेले २२ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । बलिङमा तिरुपतिका अर्जुन बश्यालले ४ विकेट लिई म्यान अफ द म्याच घोषित भए ।

आइतबार पहिलो खेल साइ ग्लोबल क्रिकेट क्लब र मास्टर्स–११ क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल बुद्ध क्रिकेट क्लब र शिव शक्ति क्रिकेट क्लबबीच हुने मेयर कप संयोजक चेतबहादुर क्षेत्रीले बताए । यही माघ २७ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका ८ वटा क्लबहरुको सहभागिता छ । प्रतियोगितामा विजयी टिमले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरिजले नगद १० हजार र म्यान मफ द म्याचले दैनिक ५ सय प्राप्त गर्ने छन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले खेलले नै राष्ट्रलाई चिनाउने भएकाले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले नयाँ–नयाँ अब्बल खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । भुसालले सिद्धार्थ रंगशालालाई छिट्टै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय रंगशाला बनाइने बताए ।

कार्यक्रममा नगर प्रमुख हरिप्रसाद अधिकारी, वडाअध्यक्षहरु शतिष मर्सानी, थानेश्वर पौडेल, एथलेटिक्सका प्रशिक्षक जीवन बस्नेत, क्रिकेटका पूर्व खेलाडी, प्रशिक्षक तथा खेल प्रेमीहरुको सहभागिता थियो । कार्यक्रमको संचालन देव ज्ञवालीले गरेका थिए ।

LEAVE A REPLY