प्रदेश सभाको पहिलो बैठक सम्पन्न ,फागुन २ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास

बुटवल माघ २१,
फागुन २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै प्रदेश ५ को बुटवलमा आयोजित प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएको छ ।
बुटवलस्थित प्रदेश नम्बर ५ को प्रदेश सभा सचिवालयमा दिउसो १ बजे सुरु भएको बैठक एक घण्टासम्म चलेको थियो । प्रदेश सभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले पठाएको पत्र पढेर बैठक सुरु भएको थियो । बैठकले अन्तरीम कार्यविधि सहित फागुन २ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पास गरेको छ ।
बैठकमा दलीय आधारमा सदस्यहरुले संघीयता र प्रदेशको संवृद्धिका बारेमा धारणा राखेका थिए । संघीयताको नया अभ्यास अनुसार भएको प्रदेश सभाको पहिलो बैठकमा सहभागी हुन आएका सांसदहरु निकै उत्साही देखिन्थे । प्रदेश ५ को प्रदेशसभा बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्ऽका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् । आइतबारको बैठक जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले धारणा राखेका थिए । प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ५ लाई मुलुककै नमुना प्रदेश बनाउन पहल गर्ने बताएका थिए । बैठकमा केही सांसदले प्रदेशको अस्थायी राजधानी बुटबल तोकेकोमा असन्तुष्टी पनि जनाए । एमाले संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश ५ लाई नमुना प्रदेश बनाउने बताए । शून्य संरचनाबाट काम गर्नुपर्ने चुनौती रहेको भन्दै उनले यसलाई मुलुककै नमुना प्रदेश बनाउन सकिने अवसर पनि रहेको धारणा राखे । पोखरेलले निकै कम समयमा धेरै कानुन पनि निर्माण गर्नुपर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए । नेकपा माओवादी केन्ऽका कुलप्रसाद केसीले प्रदेश राजधानी बुटवल राखिएकोमा आपत्ति प्रकट गरे । प्रदेश राजधानीलाई लिएर बलेको आगो निभाउन प्रदेशसभाले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले सबै मिलेर विकास गर्नुपर्ने बताए । संघीय समाजवादी फोरमका सहश्राम यादवले सबै नागरिकलाई समेट्ने कानुन बनाउनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले मुलुक समृद्धि बनाउनुको विकल्प नभएको बताइन् ।
प्रदेश ५ का १२ जिल्लाबाट ८७ सांसदको प्रतिनिधित्व हुने भएपनि राष्ट्रिय जनता पाटीका तर्फबाट विना पन्तले सपथ ग्रहण नै नगरेकाले ८६ सांसद मात्रै बैठकमा सहभागी थिए । यो प्रदेशमा एमालेबाट ४१, माओवादी केन्द्रबाट २० काग्रेसबाट १९, संघीय समाजवादी फोरमबाट ५, राष्ट्रिय जनता पाटीबाट १ र राष्ट्रिय जनमोर्चाबाट १ सांसदको सहभागीता छ । बैठकलाई मध्यनजर गर्दै बुटवल र आसपासमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।

LEAVE A REPLY