डिजिटल सिद्धार्थनगर परियोजना शुरु

प्रतिक पौडेल

भैरहवा, मंसिर २९ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अहिले आफुलाई अत्याधुनिक शहरको रुपमा रुपान्तरण गर्न लागिपरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण धमाधम हुदैछ । हरेक दिन आफुलाई प्रबिधि मैत्री बनाइरहेको सिद्धार्थनगरमा आइतबार आधुनिक शहरको झल्को दिनेगरि आधुनिक प्रविधिको डिजिटल प्रतिक्षालय तथा डिजिटल ट्राफिक आइल्याण्डको उद्धघाटन भएको छ ।

सिद्धार्थनग नगरपालिकासँगको समझदारीमा निजी क्षेत्रले भैरहवाको मुख्य सडकका ३६ स्थानमा डिजिटल प्रतिक्षालय र २० स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने सम्झौता भएको हो । त्यसका लागि झण्र्डै १६ करोड लगानी गरिंदैछ । निजी साझेदारी (पिपिपि) मोडेलमा रहेर नगरपालिकाले सन आउटडोर प्रा ली संग सम्झौता गरेर डिजिटल सिद्धार्थनगर परियोजना शुरु गरेको हो । सन आउटडोरले आफ्नै लगानीमा निर्माण गर्नेछ ।

भैरहवाको बुद्धचोकमा ४ , देवकोटा चोकमा २ र बसपार्कमा १ गरि ७ वटा डिजिटल प्रतिक्षालय निर्माण भैसकेको छ भने बुद्धचोकमा, देवकोटा चोकमा र बर्मेलिटोलमा गरी तिन स्थानमा ट्राफिक आइल्याण्ड निर्माण भएको छ  । आइतवार नगरप्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले भैरहवाको बुद्धचोकमा निर्माण भएको डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्ड उद्धघाटन गर्नु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीका अनुसार नगरको सुन्दरतामा ध्यान पुर्याउदै नगरपालिकाले निजी साझेदारीमा नगरलाई डिजिटल बनाउन डिजिटल सिद्धार्थनगर परियोजना शुरु गरेको बताउनु भयो । अधिकारीले नगरको सुन्दरताको साथसाथै यात्रुहरुको सहजता संगै नगरपालिका भित्रको ट्राफिक ब्यवस्थापन पनि सहज हुने जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिकाले सन आउटडोर प्रा ली संग १० बर्षको लागि वार्षिक १० लाख रुपैयाँ रोयल्टी लिने गरी सम्झौता गरेको छ र त्यो बापत सनले कानुनले निषेध नगरेका बिज्ञापन गर्न पाउनेछ ।

डिजिटल प्रतिक्षालयमा विभिन्न प्रचार सामाग्री सुन्दर किसिमले राखिनेछन् । यात्रुको लागी घामपानीमा ओत लाग्ने स्थानको समेत ब्यवस्था गरिएको छ ।

सन आउटडोर प्रालिका सिइयो बसन्त पाण्डेले भने, ‘यो ब्यापारिक परियोजना भए पनि यसले शहरलाई सुन्दर बनाउँछ ।’ पाण्डेले पर्यटकिय नगरि भैरहवाको सौन्दर्यताका साथै यात्रुहरुलाई सहजता पनि हुने बताए । पाण्डेले युरोपियन स्ट्याण्डरमा चिनमा निर्मित डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्ड निर्माण भएको जानकारी दिए । पाण्डेका अनुसार ५ बर्ष पछि प्रालीले आफ्नै लगानीमा नया प्रविधीको डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्डलाई अपग्रेड समेत गर्ने छ । पाण्डेका अनुसार १६ करोड लगानी निर्माणको मात्र नभएर १० बर्ष सम्मको संचालन खर्च समेत गरि हो ।

यस्तै जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक महेश बस्नेतले भैरहवा क्षेत्रमा ट्राफिक आइल्याण्ड स्थापना हुनु धेरैनै सकारात्मक काम भएको जानकारी दिए । बस्नेतका अनुसार अब भैरहवामा ट्राफिक ब्यवस्थापनमा सहज हुने बताए ।

परियोजना अन्तर्गत पहिलो चरणको काम सकिएको छ । दोस्रो र तेस्रो चरणमा २९ वटा डिजिटल प्रतिक्षालय र १७ वटा डिजिटल ट्राफिक आइल्याण्ड निर्माण हुनेछ ।