लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई बिशेष टुर प्याकेज

भैरहवा, पुस २ । नेपाल भ्रमण बर्ष २०२० मा लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई बिशेष टुर प्याकेज दिइने भएको छ । लुम्बिनी होटल एसोसियसन नेपालले नेपाल भ्रमण बर्ष २०२० अवधीभर लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई बिशेष टुर प्याकेज दिने भएको हो ।
संघका महासचिव लिलामणी शर्माले लुम्बिनीमा रहेका होटलहरुले लुम्बिनीमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई लुम्बिनी र लुम्बिनी सँग जोडिएका बौद्ध स्थल घुमाउने गरी बिशेष टुर प्याकेज दिने जानकारी दिनुभयो । शर्माका अनुसार ४ दिन ३ रातको लागी ६५ सय देखी ७५ सय रुपैया सम्म मध्यम स्तरको होटलहरुमा प्याकेज दिने तयारी भएको छ ।
शर्माले प्याकेजमा बुद्ध जन्म भएदेखीको महत्व रहेको गाउ लुम्बिनीको स्थानिय ११ वटा गाउ पर्यटकलाई देखाउने गरि एकदिनको प्याकेज, नेपालको पाचौ स्थानमा पर्ने सिमसार क्षेत्र रहेको लुम्बिनीमा वर्ड वाचिङ, तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीमा भएका पुरातात्विक क्षेत्रहरुको अवलोकन, लुम्बिनीमा रहेका सबै मोनास्ट्रीहरुको अवलोकन, जगदिशपुर ताल भ्रमण लगायत रहेको जानकारी दिनुभयो ।
संघले लुम्बिनीमा पर्यटन प्रवर्द्धनको लागी लुम्बिनी क्षेत्रलाई रातीमा सुन्दर देखाउनको लागी नियमित लुम्बिनीकै माटो बाट बनेको दियोमा बत्ति बाल्ने, फुल मुन डे ब्यवस्थित तरिकाले मनाउने, लुम्बिनी सँग जोडिएका तथा रुपन्देहीका सवै स्थानिय तह संग समन्वय गरेर उक्त क्षेत्रको पर्यटकिय महत्वका क्षेत्र भ्रमण गराउने योजना समेत गराएको छ ।
लुम्बिनीमा हाल ४२ सय बेडहरु रहेका करिव ८० वटा होटलहरु रहेका छन् जसमा ५ वटा तारे होटल समेत छन् ।