संघीयता पछि सुरक्षा व्यवस्था सुदृढ- मन्त्री केसी

भैरहवा, पुस २८ । प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले स्थानिय तह र प्रदेशले आफ्नो काम गर्न शुरु गरेदेखि सुरक्षा ब्यवस्था सुदृढ हुदै गएको बताउनु भएको छ । केसीले २ बर्ष अघि प्रदेशमा केही अपराधिक तत्वहरुको दवदवा रहेकोमा स्थानिय तह र प्रदेश सरकारले आफ्नो काम गर्न शुरु गरेपछी सुरक्षा ब्यवस्था सुदृढ हुदै गएको बताउनु भएको हो । सोमवार भैरहवामा जिल्ला प्रहरी कार्यालय रुपन्देही द्वारा आयोजित सामुदायिक प्रहरी साझेदारी अन्तरगत स्थानिय तहलाई प्रशंसा बितरण कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेश प्रहरीको बहस शुरु गर्ने बताउनु भएको छ । केसीले संभवत प्रदेशसभाको आउने हिउदे अधिवेशनमा प्रदेश प्रहरीको बहसलाई टुङ्ग्याउने जानकारी दिनुभयो । केसीले नगरपालिकाहरुले नगरप्रहरीको संरचना बनाएकोमा त्यसलाई परिमार्जन गर्नुपर्ने बताउनु भयो । केसीका अनुसार नगरप्रहरीको आकार, आकंडा, संरचना, ब्यवस्था, परिचालन र समन्वयका कुराहरु बाकिनै रहेको छ । केसीले नगरप्रहरीले अहिले सेवा प्रवाहको लागी मात्र प्रयोगमा आएको बताउदै नगरप्रहरी लाई अधिकार के के दिने भन्ने कुराहरु बाकी रहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सन्तोष पाण्डेले देशमा नेताहरुलाई सम्मान गर्ने बातावरण बनेको बताउनुभयो । पाण्डेले जनप्रतिनिधिहरु आफ्नो क्षेत्र बाट दायित्व पुरा गर्ने इच्छाशक्ती राखे अपराधिक क्रियाकलाप रोक्न सक्ने जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनता सँग मिलेर गए जस्ता सुकै अपराधको अनुशन्धान सहजै गर्न सकिने बताउनुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी महादेव पन्तको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रुपन्देहीका नगरपलिका तथा गाँउपालिकाका प्रमुख, संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका प्रहरी बरिष्ठ उपरिक्षक, ५ नं.प्रदेश प्रहरी तालिक केन्द्र बुटवल रुपन्देहीका समादेशक, सिद्धार्थनगर नगरपालिका भित्र पर्ने वडा नं.१ देखि वडा नं.१३ सम्मका वडा अध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, समाजसेवी तथा उद्योग व्यवसायीहरु लगायत स्थानीय बासिन्दाहरु लगायतको उपस्थितिमा प्रहरी प्रधान कार्यालय द्वारा बितरित प्रशंसा पत्र १६ वटै स्थानिय तहहरुलाई वितरण गरिएको छ ।