नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुटवल–११ बुटवल विजयी

भैरहवा, माघ १६ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत बिहीबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा बुटवल–११ बुटवल विजयी भएको छ । बुटवल–११ ले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई १२२ रनले पराजित भएको छ ।
निर्धारित ४५ ओभरको खेलमा टस जितेर व्याटिङ गरेको बुटवल–११ ले ४४ दशमलव १ ओभरमा १९१ रनको योगफल बनायो । उसका लागि इशान पाण्डेले ११०, अमित श्रेष्ठले २५ र शुसान्त तिमिल्सिनाले १३ रनको योगदान गरे । बलिङमा शिवशक्तिका विष्णु कटारिया र सुवास विश्वकर्माले ३÷३ तथा कृष्ण कार्की, अमरसिंह रौटेला र दुर्गेश कुर्मीले १÷१ विकेट लिए ।
जवाफमा शिवशक्तिले २५ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६९ रन बनायो । उसका लागि कृष्ण कार्कीले १८ र मिरनाल गुरुङले १६ रनको योगदान गरे । बलिङमा बुटवल–११ का एजाज आलमले ३, इशान पाण्डेले २ तथा देवेन्द्र सोमरे र प्रकाश के.सी.ले १÷१ विकेट लिए । खेलमा बुटवल–११ का इशान पाण्डे म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार सेमिफाइनल खेल लुम्बिनी खुकुरी क्लब बेलहिया तथा जितगढी क्रिकेट क्लब बेलबासबीच हुनेछ । प्रतियोगिताको सम्पूर्ण लिग चरणका खेलहरु समाप्तीसंगै शंकरनगर क्रिकेट क्लब, वेस्टर्न क्रिकेट क्लब, साई ग्लोबल क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब डिभिजन ‘बी’ मा घटुवा भएका छन् ।
नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।