साई ग्लोबल टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु

भैरहवा, माघ २० । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता-२०७६ सोमबारदेखि सुरु भएको छ ।

साई ग्लोबल एकेडेमीको प्रायोजन तथा एमएम युनिभर्सिटी हरियाणा (भारत), इमपेरियल बिजनेश कलेज तथा एजुकेशन पाटी डट कमको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य पाण्डेयले खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताए । उनले खेलाडीहरुले विश्वमाझ नेपालको नाम चिनाउने काम गरेको बताए । पर्यटन क्षेत्रको विकासको लागि खेलकुदको पनि विकास अपरिहार्य रहेको पाण्डेयको भनाइ थियो । खेलकुद क्षेत्रको विकासको लागि सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको उनले बताए ।

साई ग्लोबल क्रिकेट क्लबका अध्यक्ष हरि बहादुर थापाले यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका खेलाडीहरु उत्पादन गर्न प्रतियोगिताले सहयोग पु-याउने तथा खेल क्षेत्रको सर्वाधिक विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालय तथा कलेजका टिमहरुको सहभागिता रहने थापाले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले शारीरिक तथा मानसिक विकासको लागि खेलकुद आवश्यक रहेको बताए । उनले खेल क्षेत्रलाई माथि उठाउने काममा साई ग्लोबल लाग्नु प्रशंसनीय भएको बताए । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले साई ग्लोबलले क्रिकेट प्रतियोगितालाई निरन्तरता दिनु प्रशसंनीय रहेको बताए । उनले रुपन्देहीको क्रिकेट सम्वृद्ध रहेको बताए ।

वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले शिक्षासंग खेलकुदको पनि आवश्यकता रहेकोमा जोड दिए । उनले खेलमा अनुशासनको पनि उत्तिकै महत्व रहेको धारणा राखे । साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक महेश भुर्तेलले गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि समावेश गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै एकेडेमी अगाडी बढेको बताए । उनले साई ग्लोबलले क्रिकेट खेललाई लिएर अगाडी बढे जस्तै अन्य विद्यालयले अरु खेलको आयोजना गर्नुपर्ने बताए ।

भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले पढाईसंगै खेलकुदको पनि आवश्यकता रहेकोमा जोड दिए । उनले साई ग्लोबलको प्रयास राम्रो भएको र आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । एमएम युनिभर्सिटी हरियाणाका प्रोफेसर दिवस गुप्ताले नेपाली विद्यार्थीहरु अनुशासित रहेको आफुले पाएको बताए । उनले पढाईसंगै खेलकुदलाई स्थान दिने कार्य महत्वपूर्ण रहेको बताए ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले नीजि विद्यालयलाई असहज परिस्थिति सिर्जना गरिएकोले राज्य यसतर्फ सचेत हुनुपर्ने बताए । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष दिपेश पछाईले साई ग्लोबलले शिक्षासंगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु प्रशसंनीय रहेको बताए । साई ग्लोबल क्रिकेट क्लबका सचिव तथा साई ग्लोबल सेकेण्डरी स्कूलका सह–प्राचार्य मोती प्रसाद शर्माको स्वागत तथा पत्रकार सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।