साई ग्लोबल टी–ट्वान्टी कप – लुम्विनी इन्जिनियरिङ कलेज र स्वर्णिम सगरमाथा कलेज विजयी

प्रतिक पौडेल

भैरहवा, माघ २७ । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत सोमबार भएको खेलमा लुम्विनी इन्जिनियरिङ कलेज र स्वर्णिम सगरमाथा कलेज विजयी भएका छन् । लुम्विनी इन्जिनियरिङ कलेजले साई ग्लोवल कलेज बि लाई २६ रनले र स्वर्णिम सगरमाथा कलेजले सनसाइन कलेजलाई ८० रनले पराजित गरेको हो ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको लुम्विनी इन्जिनियरिङले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल बनायो । उसका लागि शुषान्त थापाले ६५ र मनिष पौडेलले ३४ रनको योगदान गरे ।  बलिङमा साई ग्लोवलका इमरान पठानले ३ तथा फरहान खान तथा बिपिन ढुङ्गानाले १÷१ विकेट लिए ।

जवाफमा साई ग्लोवलले २० ओभरमा सबै विकेट गुमाउदै १ सय १७ रन बनायो । उसका लागि इबराहिमले ३६ रन र आशिष रोक्काले ३४ रन बनाए । बलिङमा लुम्विनी इन्जिनियरिङका सरोज भुषालले ३, धिरज शाहीले २ , सब्रे आलम र सिद्धार्थ खड्काले १-१ विकेट लिए । खेलमा लुम्विनी इन्जिनियरिङका शुशान्त थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै पहिले व्याटिङ गरेको स्वर्णिम सगरमाथा कलेजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रनको योगफल बनायो । उसका लागि सुरज दराईले ४६ र प्रेम श्रेष्ठले २४ रनको योगदान गरे । बलिङमा सनसाइन कलेजका सुशान्त खरेलले ३ र इखलाख अहमदले २ विकेट लिए ।

जवाफमा सनसाइनले १२ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४३ रन बनायो । उसका लागि इखलाख अहमदले २३ रनको योगदान गरे । बलिङमा स्वर्णिम सगरमाथाका कृष्ण कार्कीले ३, बिक्रम भुषाल, सुरज दराई र बिशाल रानाले २÷२ विकेट लिए । खेलमा स्वर्णिम सगरमाथाका सुरज दराई म्यान अफ द म्याच घोषित भए ।

साई ग्लोबल एकेडेमीको प्रायोजन तथा एमएम युनिभर्सिटी हरियाणा (भारत), इमपेरियल बिजनेश कलेज तथा एजुकेशन पाटी डट कमको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार तथा ट्रफी, द्वितीय पुरस्कार ३० हजार तथा ट्रफी, म्यान अफ द सिरिजलाई रु. ५ हजार १, बेष्ट बलरलाई २ हजार ५ सय, बेष्ट ब्याटस्म्यानलाई २ हजार ५ सय १, बेष्ट फिल्डरलाई १ हजार ५ सय १ र म्यान अफ म्याचलाई १ हजार १ प्रदान गरिने ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटस्म्यान, बेष्ट फिल्डर र म्यान अफ द म्याचको पुरस्कारको प्रायोजन जगत मोटर्स प्रा.लि. भैरहवाले गरेको आयोजकले जनाएका छन् ।