सिद्धार्थ उद्योग वाणिज्य संघको ६१ औं वार्षिक साधारण सभा सम्पन्न, पछिल्लो समय आर्थिक चलायमान ठप्प हुंदा बैंकको ऋण तिर्न नसकेको उद्योगी , व्यवसायीहरुको गुनासो ।

सम्झना शर्मा
भैरहवा, ३ फागुन । सिद्धार्थ उद्योग बाणिज्य संघको ६१ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार भैरहवामा सम्पन्न संघको ६१ औं साधारण सभामा बोल्ने उद्योगी व्यवसायीका अगुवाहरुले भैरहवामा रहेको सेज संचालनको वातावरण बन्न नसक्नु सरकारको कमजोरी रहेको बताए ।


भारतको अघोषित नाकाबन्दीका समयमा समेत सहज रुपमा संचालन रहेको वेलहिया नाकामा आईसिपी निर्माण हुन नसक्नु, निर्धारित समयमा गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल संचालनमा आउन नसक्नु, सडक लगायतका विकासका पुर्वाधारहरु निर्माणमा भईरहेको ढिलाईले यस क्षेत्रको आर्थिक गतिविधिमा ठुलो नकारात्मक प्रभाव परेको उनीहरुको गुनासो थियो ।


सरकारको नयां कर नितिका कारण उद्योगी व्यवसायी घरवार विहीन हुने अवस्था आउंदा समेत गुनासो सुन्ने निकाय नभएको भन्दै दुःख व्यक्त गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले उद्योगी,व्यवसायीले बैंकको ब्याज बुझान नसक्ने स्थिति सृजना भएको बताउनु भयो ।

यस्तै महासंघका कार्यकारिणी सदस्य राजेश कुमार अग्रवालले भैरहवामा रहेको सेजमा उद्योग स्थापना हुन नसक्नु विद्युत लगायतका पुर्वाधारको कमि रहेको बताउनु भयो । उद्योग स्थापना गर्नका लागि वातावरण छैन्,विद्युत आपुर्ति सहज हुदैन कसरी हुन्छ उद्योग संचालन उहांले प्रश्न गर्नुभयो । सेजमा उत्पादित समान ६० प्रतिशत निर्यात गर्नै पर्ने प्रावधानमा पुर्नविचार गर्नु भर्ने अग्रवालको भनाई छ ।


कार्यक्रममा पुर्व राज्य मन्त्री ओम प्रकास यादव गुल्जारीले पछिल्लो समय स्थायी सरकारले उद्योगी व्यवसायीको दीर्घकालिन हित सोंचेर काम गरिहेकोले केही समय असजह भयो भनेर नआत्तिन उद्योगी व्यवसायीलाई आग्रह गनुभयो ।


संविधानसभा सदस्य आतित्य नारायण कशौधनले हाम्रो आम्दानीको मुख्य आधार कृर्षि र पर्यटन भएपनि हामी यी कुरामा अभ्यस्त नहुंदा यसबाट लाभ लिन नसकेको धारणा व्यक्त गर्नुभयो ।
साधारण सभा कार्यक्रममा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले उद्योगी ब्यवसायीको समस्याको पहिचान हुनुपर्ने बताउनुभयो । पाण्डेले उद्योगी ब्यवसायीको समस्याको पहिचान गरेर अघि बढे समस्यको समाधान हुने जानकारी दिनुभयो । पाण्डेले उद्योगी ब्यवसायीको समस्याको बारेमा आफु छलफल गरेर समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै पाण्डेले भैरहवा क्षेत्रमा भएका बिकास निर्माणमा भएको ढिलाई प्रति प्रदेश सभाको चासो रहेकोले अव ढिलाई नहुने जानकारी दिनुभयो । पाण्डेले सबैजना मिलेर मानवताको बिकास गर्नुपर्ने समेत धारणा राख्नुभयो ।


कार्यक्रममा प्रदेश सभा सदस्य फकरुद्दिन खानले भैरहवा क्षेत्रका उद्योगी ब्यवसायी मिलेर भैरहवा शहरलाई मनोरन्जनात्मक शहरको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । खानका अनुसार लुम्विनी भ्रमण गर्न आउने पर्यटक र गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हुदै नेपाल आउने पर्यटकको लागी भैरहवा मनोरन्जन गर्ने एउटा मुख्य शहरको रुपमा बिकास हुनुपर्ने जानकारी दिनुभयो । उद्योगी व्यवसायीको सहकार्यको बिना बिकास संभव छैन उहांले भन्नु भयो ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उप प्रमुख उमा काफ्ले नगरपालिकाले स्थायी मेला मण्डपका लागि सिनपा ३ मा जग्गा पहिचान गरिसकेको जानकारी दिनु भयो । नगरपालिका सधै उद्योगी व्यवसायीको हितमा रहेको समेत काफ्लेले प्रष्ट पानुभयो ।


लुम्विनी प्रेस क्लवको अध्यक्ष दिपेश पछाईले सिद्धार्थ उद्योग वाणिज्य संघ यस क्षेत्रको उद्योगी व्यवसायीहरुको अग्रणी संस्थाको रुपमा रहेकोले यसप्रति सबैको विश्वास बढ्दै गएको बताउनुभयो । यस संघप्रति यहांका संचार माध्यम तथा संचारकमीहरुले सधै सकारात्मक भुमिका खेलिरहेको समेत अध्यक्ष पछाईले बताउनु भयो ।


संघका अध्यक्ष कुल प्रसाद न्यौपानेलले प्रतिवेदन पेश गर्दै उद्योगी ब्यवसायीमा परेको बिभिन्न समस्यामा संघ सधै त्यसको समाधानका लागि नेत्तृत्वदायी भुमिकामा रहेको जानकारी गराउनु भयो । न्यौपानेले बिशेष आर्थिक क्षेत्र (सेज) संचालनमा ढिलाई , बेलहिया नाकामा एकिकृत चेकजाच चौकी (आइसिपी) निर्माणमा ढिलाई, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनमा ढिलाई, सिमा नाका बाट हुने चोरी पैठारी लगायतका कारण यस क्षेत्रमा समस्याहरु भएको जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष ओमकार गौचन, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल लगायत उद्योगी ब्यवसायीहरुले बोल्दै सरकार उद्योगी ब्यवसायीको समस्याको बारे गम्भिर नरहेको गुनासो गरे । उद्योगी ब्यवसायीहरुका अनुसार बिकास निर्माणको काममा ढिलाई, बैंकको ब्याजदर, चर्को कर लगायतका कारण आफुहरु समस्याका परेको जानकारी दिए ।
कार्यक्रम संघका महासचिव नेत्र प्रसाद आचार्यको संचालन र बरिष्ठ उपाध्यक्ष भिष्म न्यौपानेको समापनमा भएको हो ।


दुई संचारकर्मी सहित अन्य व्यक्ती सम्मानित


साधारण सभाको अवसर पारेर भैरहवा क्षेत्रमा क्रियाशिल दुईजना पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा संघका पुर्व अध्यक्ष स्व.रुद्रविलास तुलाचन सम्मानबाट भैरहवा संचार गृह प्रा ली द्वारा संचालित भैरहवा टेलिभिजन र भैरहवा एफएमका समाचार संयोजक तथा लुम्विनी प्रेस क्लवका महासचिव सम्झना शर्मालाई सम्मानित गरिएको छ । शर्मालाई यस क्षेत्रको आर्थिक तथा सामाजिक रुपान्तरणका साथै उद्योग,व्यवसाय प्रवद्र्धनमा संचारको माध्यमबाट योगदान पुर्याए वापत नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो । यस्तै संघले दिने पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका संवाददाता मोहम्मद हविव लाई सम्मानित गरिएको छ ।


यस्तै संघले समाजिक क्षेत्रमा योगदान पुर्याएको बापत समाजिक अभियान्ता प्रख्यात बन्जाडेलाई सम्मान गरेको छ । संघले तेस्रो मुलुक निर्यात गर्ने तर्फ संघका सदस्य फर्म सिद्धार्थ आधुनिक दाल उद्योग रुपन्देहीका संचालक ऋषीकेश अग्रवाल, भारत निर्यात गर्ने तर्फ जगदम्बा स्पिनिङ मिल्स प्रा ली. मायादेवी गाउपालिका रुपन्देहीका प्रतिनिधी अनिल जाटिया, बाणिज्य तर्फ ब्यवसायीक प्रतिष्ठान भुदेव ट्रेडिङ सिद्धर्थनगर, उद्योग तर्फ औद्योगिक प्रतिष्ठान सुनगाभा ट्राभल्स सिद्धार्थनगरको प्रतिनिधी मिना श्रेष्ठ, कर्पोरेट तर्फ प्रतिष्ठान पन्चकन्या प्लाष्टिक इन्डष्ट्रिज प्रा लीका प्रतिनिधी देवेन्द्र साहुलाई सम्मानित गरिएको छ ।