सरकारले नीजि क्षेत्रको मन जित्न सकेन : अध्यक्ष सिंह

प्रतिक पौडेल
भैरहवा, २३ फागुन । लुम्बिनी निर्माण व्यवसायी रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन भैरहवामा सम्पन्न भएको छ ।

शुक्रवार भैरहवामा सम्पन्न साधारणसभाको नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उद्घाटन गर्दै सरकारले नीजि क्षेत्रको विश्वास जितेर काम गर्न नसकेको धारणा राखे ।

सरकारले नीजी क्षेत्रलाई विश्वासमा लिएर ऐन कानुन निर्माण गर्नुपर्नेमा त्यसो गर्न सकेनको सिंहले भने ।

सरकारले प्रस्तुत गरेको सार्वजनिक निजी खरिद नियमावली छैठौ संसोधन निर्माण व्यवसायी अनुकुल नहुंदा समस्या आएको उनको भनाई थियो ।

छैठौँ संसोधनले निर्माण क्षेत्र धरासायी भएको र मुलुकको बिकास हुन नसकेको सिंहले बताए । उनले भने “सार्वजनिक खरीद ऐन संशोधन गर्दा निर्माण व्यवसायीको हितमा नभए आन्दोदन गर्न तपाईहरु तयारी अवस्थामा बस्नुस् ।”

धेरै प्रयास र व्यापक बिरोध भएपछि सरकारले अहिले आएर नवौ संशोधन गर्दा निर्माण व्यवसायीको अनुकुल हुने गरी केही केही कानुन संशोधन गरीएपनि त्यतिमै सन्तुष्टी गर्ने आधार नरहेको बताए ।

सिंहका अनुसार महासंघले चरणवद्ध रुपमा आन्दोलन र विरोध गरेपछि प्रधामन्त्रीलाई सहमतिमा ल्याएर मात्र नवौ संसोधन ल्याउन सफल भएको हो । नवौ संसोधनका कारण देशभरका २७ सय आयोजनाका म्याद थप भएको उनले दावी गरेँ ।

सिंहले पुर्वाधार मैत्री र निर्माण उद्योग मैत्री संसोधन ल्याएर सार्वजनिक खरिद ऐन मुलुकको हितको लागी प्रयोग हुनुपर्ने आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष निकलोस पाण्डेले निर्माण व्यवसायीमा समय सापेक्ष आधुनिकिकरण ल्याउनुपर्ने खांचो रहेको बताए । पाण्डेले पुरानै पद्दतीमा रहे अपेक्षित उपलब्धी हासिल नहुने भन्दै निर्माण व्यवसायीहरुलाई आधुनिक उपकरणमा ध्यान दिन आग्रह गरे ।

संघका अध्यक्ष दामोदर शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझी, महासचिव रोशन दाहाल, पुर्व केन्द्रिय उपाध्क्ष रुद्र शर्मा, महासंघका प्रदेश नं ५ अध्यक्ष बलिभद्र राना, पुर्व केन्द्रिय सदस्य दिपक गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सो अवसरमा संघले संस्थामा योगदान पुरयाउने विभिन्न व्यतिmहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा संघका संस्थापक अध्यक्ष स्व चेतमान श्रेष्ठ, पुर्व अध्यक्षहरु रुद्र शर्मा, विशेश्वर प्रसाद बस्याल, छेदिलाल श्रीवास्तव, गजेन्द्र खाती, सुन्दर गुप्ता, टोप बहादुर रायमाझी छन् ।

यसैगरी कार्यक्रममा कम उमेरका निर्माण व्यवसायी किसन आचार्य, १३ औं साख खेलकुदमा अन्तराष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरेकोमा तेक्वाण्डो प्रशिक्षक कोशिस खड्का, किरन आले, गोबिन्द बहादुर आलेलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार शारदा मल्ललाई संचार क्षेत्रबाट संघमा योगदान पुर्याए बापत सम्मान गरिएको छ ।

कार्यक्रममा लुम्विनी शाखा अध्यक्ष मोहनलाल जोशीको समापन र सम्झना शर्माको संचालनमा भएको हो । अधिवेशनले आगामि कार्यकालको लागि नयां नेतृत्व चयन गर्ने छ ।