नाका बन्द हुनेभए पछि बेलहिया नाकामा नेपाल भित्रनेको ओइरो

प्रतिक पौडेल

भैरहवा, चैत १० । सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि रुपन्देही स्थित नेपाल–भारत सीमा नाका बेलहियामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् ।

१० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहानै नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिइएको रुपन्देहीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

‘नाकामा भारतमा रोजकारी र अध्ययनको क्रममा रहेका नेपालीहरु आउने क्रम जारी छ हामीले आज पहिलो दिन नाका सम्मै आइपुगेका लाई स्वास्थ परिक्षण गराएर नेपाल भित्रन दिएको खत्रीले बताए ।’ भित्रिएका सबैको परिचयसहितको रेकर्ड राखिएको पनि उनले बताए ।

भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको उनले बताए । ‘अहिले भारतबाट आएका नेपालीहरुलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ,’ उनले भने, ‘भारतीय नागरिकलाई प्रवेश दिइएको छैन ।’शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

अहिले नाकामा सरकारको तिन तहको सुरक्षा संयन्त्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छ ।

बेलहिया नाकाको हेल्थ डेक्समा सोमवार १० बजे सम्म मात्र करिव ८ सय १५ जनाको स्वास्थ परिक्षण भएको छ । नाकामा गएको ५ दिनमा करिव ५२ हजार ६ सय ६३ जनाको स्वास्थ परिक्षण भएको छ । नेपालीहरु आउने क्रम अझै जारी छ ।