बेलहिया नाकामा २ सय ५० भन्दा बढी नेपालीहरु अलपत्र

प्रतिक पौडेल

भैरहवा, चैत १० । रुपन्देहीको बेलहिया नाकामा २ सय ५० भन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि सिमा बन्द भएपछि रुपन्देही स्थित नेपाल–भारत सीमा नाका बेलहियामा भारतबाट नेपाल आएका नेपालीहरु नेपाल प्रवेश गर्न नपाएपछि सिमामै अलपत्र परेका हुन् । बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किने क्रममा बेलहिया नाका आएका छन् ।

१० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहान करिव ८ सय १५ जना नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिएपनी थपलाई भने अहिले प्रवेश गर्न दिइएको छैन ।

नाकामा भारतमा रोजकारी र अध्ययनको क्रममा रहेका नेपालीहरु आउने क्रम जारी छ । सरकारले आइतवार नाका बन्द गर्ने निर्णय गरेपनि त्यसबारे धेरैलाई थाहा नभएपछि अहिले नेपाल भारत सिमाको भारत तर्फको सुनौलीमा नेपालीहरु अलपत्र परेका छन् । अहिले नाकामा सरकारको तिन तहको सुरक्षा संयन्त्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छ ।

बेलहिया नाकाको हेल्थ डेक्समा सोमवार १० बजे सम्म मात्र करिव ८ सय १५ जनाको स्वास्थ परिक्षण भएको छ । नाकामा गएको ५ दिनमा करिव ५२ हजार ६ सय ६३ जनाको स्वास्थ परिक्षण भएको छ । नेपालीहरु आउने क्रम अझै जारी छ ।