स्थानीय तहहरुको विपद् व्यवस्थापन कोषमा ईट्टा व्यवसायी संघको ५ लाख बढी सहयोग

भैरहवा, २४ चैत । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेका विपद्÷प्रकोप व्यवस्थापन कोषमा ५ लाख बढी सहयोग गरेको छ । संघले नगद र चेकमार्फत तथा खाद्यान्न सामाग्री गरी ५ लाख ४९ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो ।

संघले प्रदेश ५ सरकारद्धारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ हजार, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणीमा ८१ हजार, ओमसतियामा ७५ हजार, कोटहीमाईमा ३५ हजार, सियारी र शुद्धोधनमा ३०÷३० हजार सहयोग गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताए । त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको गुप्ताले जानकारी दिए ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारहरुले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हौं, समाजप्रतिको उत्तरदायित्वलाई बहन गर्न जिल्लाका विभिन्न ईट्टा उद्योगीहरुको यसमा साथ छ, उनले भने ।”

संघका अध्यक्ष थानेश्वर घिमिरेको अगुवाइमा राष्ट्रिय विपद्को घडीमा सहयोगको हात अगाडी बढाइएको गुप्ताले बताए । त्यस्तै कोरोना संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्रै बसेर सुरक्षित हुन संघले सबैलाई आग्रह समेत गरेको छ ।