कोरोना संकटमा यातायात व्यावसायीको अपेक्षा ।

सूर्य सारु मगर

चीनको वुहानमा डिसेम्बर अन्तिममा देखिएको कोरोना (कोविड–१९) भाइरसको महामारी भुसको आगो जसरी फैलिइरहेको छ । यो भाइरसले २१ औं शताब्दीको विज्ञानलाई पनि जित्न दिएको छैन ।
औषधि पत्ता लगाउने वैज्ञानिकहरूको निरन्तरको प्रयासलाई सफल हुन दिएको छैन ।
नेपाल लगायत विभिन्न देशहरूले लकडाउनलाई कोरोनाबाट बच्ने अचुक अस्त्रको रुपमा प्रयोग गरिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले विभिन्न क्षेत्रमा पारेको असर भने चानचुने छैन ।
उद्योग, कलकारखाना, व्यावसायदेखि सबै क्षेत्र ठप्प छ । लकडाउनको सबैभन्दा बढी असर नेपाल जस्ता विकासशील देशहरूमा बढी देखिन्छ ।
न्यून आर्थिक आय भएका, दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरू भोकभोकै बस्नु पर्ने अवस्था आएको छ । धन्न उनीहरूलाई प्रदेश र स्थानिय सरकारहरू र केही संघसंस्थाको सहयोगले राहत पुगेको छ । यद्यपि राहत हात्तीको मुखमा जिरा भने जस्तो भइरहेको छ ।
सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताले गर्दा सहयोग गर्न चाहनेहरू पनि खुलेर बाहिर आउन सकिरहेका छैनन् ।
एउटा बिन्दुमा पुगेपछि कोरोना कहर त अन्त्य होला तर यसले आउने दिनमा संसारको अर्थव्यवस्थामा ठूलो असर पार्ने अर्थविदहरूले बताईसकेका छन् ।
कोरोनाका कारण धेरै उधोगहरू बन्द हुने र बेरोजगारी बढ्ने देखिन्छ । यसले गरिबी बढ्ने निश्चित छ ।
नेपालको यातायात क्षेत्रमा पनि यसको प्रभाव नपर्ने कुरै छैन । हाम्रो सार्वजनिक यातायात निजी क्षेत्रकै भरमा टिकेको छ ।
यातायात क्षेत्रमा व्यावसायीहरूको अर्बौंको लगानी छ । यसले लाखौं युवालाई स्वदेशमै रोजगारीको अवसर पनि दिएको छ ।
विदेशमा काम गर्न जानेहरूका लागि पनि यातायात क्षेत्रमा सिकेको सीप, अनुभव उपयोगी भएको छ । जस्तो अनुभवी चालकहरूले विदेशमा पनि राम्रो आम्दानी गर्न सफल भएका छन् ।
विगतमा भएका बन्द, हड्ताल, चक्कजामको सबैभन्दा बढी मार परेको क्षेत्रमा पर्छ, यातायात व्यावसाय । आफ्ना माग पुरा गराउन सडकमा उत्रने गर्दा त्यसको प्रत्यक्ष असर यातायात उद्योगमा परेको थियो ।
सवारी साधन नजलाएको वा तोडफोड नभएको त बन्द हड्ताल नै थिएन भन्दा पनि फरक नपर्ला । व्यक्तिले खाईनखाई जम्मा गरेको, बैंकबाट ऋण लिएर किनिएका सवारी साधन जले पनि सबैले क्षतिपुर्ति पाएनन् । न त पहल गर्दिनु पर्नेले नै पर्याप्त पहल गरिदिए ।
सडक दुर्घटनाले गर्दा पनि सार्वजनिक यातायात उधोगलाई बारम्बार क्षति व्योहोर्नु परेको छ ।
विमाबाट उपचार खर्च तीन लाख दाबी गर्न सरकारले व्यवस्था गरेको छ । तर घाईतेलाई ठूला र महँगा अस्पतालमा उपचार गर्दाको आर्थिक क्षतितर्फ कसैको ध्यान गएको छैन ।
यातायात क्षेत्रले यस्ता समस्या विगतदेखि नै झेल्दै आएको हो । लकडाउन भएको तीन हप्ता भएको छ । यो अझै लम्बिने सरकारले संकेत गरिसकेको छ ।
सार्वजनिक यातायात उद्योगमा अर्बौको लगानी छ । लाखौ व्यवसायी र मजदूर र उनीहरूका परिवारको रोजीरोटीका लागि चक्का गुड्नुपर्छ ।
चक्काजाम भएर बसनु भनेको यात्रु गन्तव्यमा पुग्न नपाउनु मात्रै होइन व्यावसायी र मजदुरको रोजीरोटी खोसिनु पनि हो ।
लामो समय लगातार सवारी साधन ग्यारेजमा राख्नु परेको यो पहिलो पल्ट हो । त्यसले पार्ने आर्थिक प्रभावबारे सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।
यातायात उद्योग धारासयी हुनु भनेको एक हिसाबले मुलककै अर्थतन्त्र धारासायी हुनु हो ।
यहाँको भौगोलिक विषमताले गर्दा सडक यातायात नै सबैभन्दा बढी प्रभावकारी रहेको यथार्थ हामीले बिर्सिनु हुदैन ।
कोभिड १९ नियन्त्रणमा आएपछि लकडाउन सकिए पनि यो उधोग धरासायी हुनु भनेको देश अर्को लकडाउनु जाने निश्चित प्राय छ ।
यसैले सरकारले सार्वजनिक यातायात उधोगलाई बचाउन नयाँ योजना र राहत दिन जरूरी छ । सरकारले चैत्रको किस्ता र व्याज तिर्ने म्याद केही दिन थपेको छ । तर त्यो सार्वजनिक यातायात उधोगलाई बचाउन पर्याप्त छैन ।
ऋणको व्याज बढ्दै जाँदा व्यावसायीहरू पनि आर्थिक संकटमा पर्दै जान्छन् ।
अहिले पनि धेरै यसक्षेत्रका लाखौं मजदूरहरू व्यवसायीहरूले नै संरक्षण र  सहयोग गरेका छन् । जसका कारण सरकारले लागू गरेको लकडाउनको निर्णय पालना गरेर घरमै बसेका छन् ।
लकडाउन अझ लम्बिदै गएमा ती लाखौं मजदूरहरूलाई पनि व्यवसायीहरूले सहयोग गर्न नसक्ने अवस्था आउन सक्दछ । त्यतिबेला लाखौ मजदूरहरू विगतका आन्दोलनमा जस्तै भोकविरुद्ध लकडाउन तोड्न अग्रपंक्तिमा नआउलान् भन्न सकिदैन ।
सार्वजनिक यातायात व्यवसायीहरूको ऋणको भार थपिदै जादा व्यवसायी आफै मर्कामा परेर मजदुरलाई सहयोग गर्न नसक्ने अवस्था आउनसक्दछ ।  भविष्यमा धेरै लगानी कर्ता व्यवसायी ऋणको मारले थिचिएर व्यवसायीबाटै बाहिरिन बाध्य हुने अवस्था आउन सक्दछ ।
त्यसो हुनु भनेको मजदुरहरूको रोजगारी पनि गुम्नु हो । अर्कोतिर कोरोना प्रभावकै कारण विश्वभरीका नेपाली युवाहरू स्वदेश फर्किसकेका छन् ।
उनीहरू पनि जुन देशमा रोजगारमा थिए ती देशका रोजगारदाताले आर्थिकमंदीको कारण पुन काममा नलिन सक्दछ ।
त्यसको विकल्प भनेको स्वदेशमै रोजगारी हो । त्यसका लागि पनि सार्वजनिक यातायात उधोगलाई बचाउन समयमै पहल गर्नु जरुरी छ ।
पर्यटनलाई पनि हामीले आर्थिक मेरुदण्ड भनिरहेका छौं । तर यसका लागि पनि सार्वजनिक यातायात अपरिहार्य छ । यो विना पर्यटन क्षेत्र पनि फस्टाउन सक्दैन ।
यो उधोगमा लागेका व्यवसायी र मजदूरहरूले विभिन्न कठिनाईका बावजूद सरकारसंग कुनै प्रकार आश नगरी निरन्तर आफ्नो सेवा दिईरहेका छन् । विगतमा पनि देशलाई परेको हरेक संकटमा सहयोग र साथ दिँदै आएको हो ।
अहिले पनि यो कोरोनाको महामारीमा पनि आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर विभिन्न प्रकारले सहयोग गरिरहेको छ । हाम्रो दैनिक जीवनसंग जोडिएको यो सार्वजनिक यातायात उधोगलाई सरकारले मात्र होईन सबैले हेर्ने दृष्टिकोण फरक पार्नै पर्दछ ।

(लेखक .सिद्धार्थ यातायात प्रालिका अध्यक्ष हुन )