कृषिमा आत्मनिर्भर बन्न युवालाई सहभागी गराई,आधुनिक खेति गरौ

सुर्य कुमार सारु मगर
बैशाख २४

कोभिड-१९ ले संसारभरको श्रमबजारमा सबै भन्दा बढी असर पारेको छ । अहिले संसारका धेरै देशहरूले आफ्ना नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै,गरि रहेको विभिन्न प्रकारको लकडाउन ( बन्दाबन्दी) ले उधोग,व्यवसाय,पर्यटन,यातायात,स्कूल,कलेज र सिनेमाघरहरू पूर्णरूपले बन्द भएका छन् ।   विकसित देशहरू स्वास्थ्य क्षेत्रमा आधुनिकरूपले अव्वल रहेता पनि, ती देशहरूले पनि कोभिड-१९ को संक्रमणबाट आफ्ना नागरिकलाई बचाउन नसकेको अवस्था रहेको छ । तर पनि विकसित राष्ट्रका वैज्ञानिकहरू कोभिड-१९ फैलिन नदिन औषधी र भैक्सिन बनाउन रातदिन आफ्नो लैबमा लागीपरेका छन् । तर अहिले सम्म सफलता प्राप्त गर्न सकेका छैनन । आशा गरौ पक्कै पनि छिटै नै तिनिहरूले सफलता प्राप्त गरि संसारभरका मानिसहरूलाई कोभिड-१९को संक्रमणबाट बचाउन सफल हुने छन् ।  लकडाउनले संसारका धेरै देशहरू लगभग थप्प नै छ । जसकारण उधोग,व्यवसाय,पर्यटन,यातायात स्कूल,कलेज र सिनेमाघरहरू बन्द भएका कारणले धेरै युवाहरू विरोजगार हुने कगारमा पुगेका छन् ।   लकडाउन अघि नेपालबाट दैनिक वैदेशिक रोजगारका लागि हजारौ युवा विदेश जाने गर्दथे ।आज ती सबै युवाहरु लकडाउनको कारण बन्द हुँदै गईरहेको कम्पनिहरूले आफ्ना कामदार कटौति गर्ने निति लिएपछि धेरै युवाहरू स्वदेश फर्किन बाध्य भएका छन ।अझ धेरै फर्किनका लागि ती देशले स्कुल कलेज र खेलमैदानमा तैयारी अवस्था राखिएको समाचार आईरहेको छ । नेपाल सरकारले नेपाली युवाहरूलाई स्वदेश फर्काउन पहल गरिरहेको भनिरहेको छ तर ठोस पहल भने कहि भएको देखिदैन ।   अहिले सम्म विभिन्न देशबाट नेपाल फर्किने नेपाली युवाहरू पाँच लाख भन्दा बढी भारतिय सिमाना र हवाईमार्गबाट नेपाल प्रवेश गरिसकेका छन् । अहिले ती युवाहरूमा कोभिड-१९ को संक्रमण भए नभएको थाहा पाउन स्थानिय र प्रदेश सरकारले खडा गरेको क्वारेन्टाईन राखिएको छ भने कति आफ्ना घर पुगिसकेका छन ।  वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई नेपाल सरकारले कृषि क्षेत्र सहभागी गराउने भनेको छ । स्थानिय सरकारले पनि कृषिमा सहभागी गराउन विभिन्न निर्णयहरू गरिसकेको छ ।    नेपाल कृषि प्रधान देश हो भन्दै आईरहेको पनि वर्षौ भयो। तर अहिले सम्म नेपालमा व्यवसायिक कृषि खेति भएको देखिदैन । यति खेर धेरै युवाहरू विदेशमा कृषि सीप सिकेर नेपाल फर्किएका छन ।अब ती युवाहरूलाई पक्कै कृषिमा व्यवस्थित गर्ने हो भने सरकारले बेलैमा सोच पुर्‍याउनु जरूरी देखिन्छ ।   युवाहरूलाई कृषिमा लगाउने योजना मात्रै सुनाउने तर सरकारले कुनै जिम्मेवारी निर्वाह नगर्ने भएपछि ती युवाहरू फेरि विदेश फर्किने छन् या गलत दिशामा लाग्ने सम्भावना बढेर जानेछ । नेपाली युवाहरूमा गरेर देखाउने जोश,जागर र अठोट हुन्छ ।अहिले नेपाल सरकारलाई ती युवाहरूको जोश,जागर,अठोट र शिपलाई देश कै निम्ति प्रयोग गर्ने समय र अवसर प्राप्त भएको छ । यो अवसर र समयलाई बहुमतको सरकारले राम्रो योजना बनाएर कृषि क्षेत्रमा लगाउनु पर्दछ ।   दुइतिहाइ  बहुमतको सरकार अब नेपालमा व्यवसायिक खेतिका लागि मानसिक र भौतिकरूपले तैयार हुनु पर्दछ । व्यवसायिक खेतिका लागि खेतलाई चक्लाबन्दी गर्नु पर्दछ । साथै बढ्दो सहरीकरण लाइ रोक्न सरकारले बस्ति र शहरलाई कसरी र कहाँ कहाँ व्यवस्थित गर्न सकिन्छ भनेर लाग्नु पर्दछ ।    युवाहरुलाइ कृषी पेशामा आबद्ध गराउन अब किसानहरुको वर्गीकरण सरकारले गर्नु पर्दछ,होइन भने सरकार र अन्य स्रोतबाट किसानलाई दिने  अनुदान टाठाबाठाहरूले खाई दिने छन् ।जस्तो अहिले सम्म नेपालमा त्यही भईरहेको छ । अबका युवाहरुले कृषी गोरु र भैसी अनि कोदालो प्रयोग गरेर पक्कै गर्ने छैनन्। यी युवाहरु आधुनिक खेतीमा रमाउने छन्।      त्यसको लागि सरकारले तीन चिजको जिम्मेवारी लिनु अति जरूरी देखिन्छ -१.बीउ,मल र औजार समयमा उपलब्ध गराउने,२. उत्पादन वस्तुको मूल्य सहित बजारीकरण र ढुवानी व्यवस्थापन गर्ने३. सिचाइ सहित प्राविधिक सहयोग निशुल्क उपलब्ध गराउने ।   सरकारले स्थानिय सरकार,कृषिज्ञान केन्द्र,र प्राविधिकलाई तुरून्त परिचालन गरेर हिमाली,पहाडी र तराईको कुन कुन भूभाग र ठाउँमा के के खेति गर्न सकिन्छ ? कस्तो बीउ आवश्यकता पर्दछ ईत्यादिमा तथ्यांक संकलन गरिहाल्नु पर्दछ ।अहिले स्थानिय सरकारले बिना तथ्यांक र योजनामा आफ्नो गाउँ पालिका र नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने होडमा लागीपरेका छन् ।यस्ता होडबाजीले कृषिमा हामी आत्मनिर्भर कहिल्यै हुन सकिँदैनौ ।  नेपाललाई कृषिमा आत्मनिर्भर र आम्दानीको मूख्य स्रोत बनाउने हो भने हाम्रो उत्पादन अन्तर्राष्ट्रियस्तरको गुणस्तर हुनु पर्दछ । त्यसका लागि हामीले रासायनिक प्रयोग खेति र प्राङ्गारिक खेति गर्न सकिन्छ । सरकारले संचालनमा रहेका कृषि सहकारीहरुलाई पनि सहभागी गराउनु पर्दछ । किनकि कृषि सहकारीले थोरै मात्रामा  उत्पादन गरे पनि,उनीहरुलाई बजार र खेति रहेको अनुभव छ ।यति खेर कोभिड-१९ ले संसारका धेरै देश लकडाउनले गर्दा कृषि उत्पादन कम हुने देखिन्छ। हिजोको दिनमा अन्य देशबाट जसरी आयात हुने थियो,लकडाउन पश्चात् त्यति नै मात्रामा कृषी सामग्री आयात हुने सम्भावना कम हुँदै गएको छ । तसर्थ अब हामीले चैते खेती लगाई सकेको अवस्था र अब असारमा लगाउने खेतिबाट दोब्बर उब्जाउनी गराउन किसानलाई समयमा सबै थोक सरकारले उपलब्ध गरि दिनु पर्दछ । सरकारले स्वास्थ्य सामाग्री संगसंगै कृषिका लागि चाहिने सामाग्री पनि समयमा कृषक लागि आयात गर्नु पर्दछ ।अनि मात्र हामीले केही भएपनि संसार कोभिड -१९ को कारणले संकटमा भएको बेला कृषि उत्पादन निर्यात गर्न सकिन्छ । हाम्रो देशको सधै खस्किने अर्थतन्त्रलाइ टेवा दिन सक्दछौ।  नेपाल सरकारले कृषी अनुसन्धानमा पनि लगानी गर्नु पर्दछ। अनुसन्धान बिना हाम्रो उत्पादान गुणस्तर या उच्चकोटी हुन सक्दैन।     कृषिलाई नै मुख्य आम्दानीको स्रोत र अहिले विदेशबाट फर्किएका युवाहरूलाई कृषिमा सहभागी गराउने उदेश्य सरकारले लिएको हो भने अब प्रस्तुत हुने बजेटमा पहिलो स्वास्थ्य र दोस्रोमा कृषिमा यो बहुमतको सरकारले बजेट छुट्टाउनु पर्दछ । साथै कृषी बिमा पनि कृषकको पहुचमा हुने गरि लागु गर्नु पर्द्छ। सरकार ले सहरमा गरिने कौसी खेतीलाई पनि आफ्नो योजना मा राख्न र सहयोग गर्नु पर्दछ।   वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई अहिलेको सरकारले विशेषगरी कृषि क्षेत्रमा सहभागी गराउन सक्यो भने भविष्यमा हाम्रो देश नेपालले नेपाली युवाहरूलाई  “Three D” (Dirty/difficult/Danger ) कामका लागि वैदेशिक रोजगारका लागि पठाउनुको सट्टा हाम्रो कृषि उत्पादन पठाउन सक्षम हुनेछौ । जसले नेपाली युवाहरु लाई स्वदेशमै बसेर देशको निम्ति केहि गर्ने सोच र उत्साह बढ्ने छ।      नेपालले हिजो देखि विदेशीहरूसंग कृषिमा लिएको ऋणले हाम्रो देशको विकासमा अवरोध हुने क्रम क्रमश: कम हुँदै जानेछ र हामी कृषिमा मात्र होईन सबै क्षेत्रमा आत्मनिर्भर भई अन्य विकसित राष्ट्रको नागरिक जस्तै हामी नेपाली पनि सम्मानका साथ संसारका हरेक कुना बिकसित देशका नागरिक संग कुम मा कुम मिलाउन सक्ने छौ।