नेपाल सरकार सुरु गरौ ” रास्ट्रीयता उद्दार मिसन ” नेपाल र नेपालीको लागि

    सुर्य कुमार सारु मगर ,

 नेपाली युवाहरु नेपालमा रोजगारीको अवसर नभएर बैदेसिक रोजगारको लागि बिदेसिन बाध्य भएका थिए। तर अहिले संसारभर कोराना भाइरसले सिर्जना गरेको त्रासले गर्दा, धेरै देशबाट नेपाली युवाहरु स्वदेश फर्किन बाध्य भइरहेका छन्।

   धेरै देशहरुले आफ्नो देशमा लकडाउन लागु गरेको हुनाले, त्यहाको उधोग ,ब्यापार,होटेल ,यातायात  र निर्माण कार्य बन्द भएपछी तलब र सुविधा दिएर राख्न सक्ने अवस्था नभए पछि आफ्ना कामदारहरुलाइ बिदा गरेका छन् भने कति नेपाली कामदारहरुको भीसा सकिएको र कति त अबैधानिक रुपले बसी रहेका थिए। ति देशहरुले अब सबैलाइ आफ्नो देश फर्किने मौका दिएको छ। कतिपय अभिभावकहरु आफ्ना छोराछोरीहरुले घुम्न बोलाएर उतै फसेर बसेका पनि छन्।  ति अभिभाबकहरु पनि स्वदेश फर्किन चाहान्छन। 

       नेपाल सरकारले ति सबै नेपाली युवा र अभिभावकहरुलाइ आफ्नो देश फर्काउन, जसरि सुरुका दिनमा चिनबाट बिधार्थिहरुलाइ उद्दार गर्न सफल भएको थियो। त्यसरी नै अन्य देशबाट पनि हाम्रा युवा र ति अभिभावकहरुलाइ  स्वदेश ल्याउन तु पहल गर्नु पर्दछ। अहिले विदेशमा भएका हाम्रा युवाहरुलाइ नेपाल पठाउन त्यहाँका नेपाली राजदूताबासले पनि नेपाल सरकारलाई सुचना दिई अनुमति मागेको अवस्था रहेको  छ। तर नेपाल सरकार कानमा तेल हालेर बसी रहेको छ। किनकी नेपाल सरकारले पनि चैत्र ११ गते देखि पटके लकडाउन गर्दै आइरहेको छ। नेपाल सरकारले गरेको लकडाउनले कुनै फाइदा भएको देखिदैन। लकडाउन घोषणा गरेर मात्र नहुदो रहेछ। त्यसको पालना जनताले अनुशासनमा रहेर कार्वान्यन गर्नु पर्दछ या सरकारले कडाईको साथ लागु गर्न सक्नु पर्दछ। यहाँ त् सरकारको  व्यवहारले आफु मात्र सुरक्षित हुने देखिन्छ।  

    मंत्रिपरिषदको बैठक पटक पटक बसिरहेको छ। तर अहिले सम्म ति नेपालीहरुको बारेमा कुनै निर्णय  सरकारले गरेको छैन। हामी तैयारी गरिरहेका छौ मात्र भनि रहेको छ। तर तैयारी कहिँ गरेको देखिदैन।  अहिले सरकार आफ्नो जनता प्रति किन यति उदासिन भएको छ।  नेपाली जनताले बुझ्न सकेको छैन। सरकारको त्यही उदासिनले गर्दा नेपाली जनताले सामाजिक संजाल मार्फत दिनहु सरकारको टिप्पणी गरि रहेका छन। सरकार भने आफ्नो कुर्सिको दाउपेचमा जोड घटाउ गरि रहेको छ।

  भारतबाट धेरै नेपालीहरु सिमा नाका भएर आउने क्रम अहिले सम्म रोकिएको छैन। सरकारले लकडाउन भर सिमाबाट नेपाल प्रवेशमा सबैलाई रोक लगाएको छ। जसले गर्दा भारतबाट नेपाल प्रवेश गर्ने धेरै नेपालीहरु अलपत्र परेका छन। भारतमा कोरना भाइरस संक्रमित दिनहु बढोत्तरी भैरहेको र नेपालमा पनि भारतबाट आउने मानिसहरु नै बढी संक्रमित पत्ता लागेपछि,सरकारले भारतमा रहेका नेपालीहरुलाई सकेसम्म भारत मै रोक्ने नीति लियको देखिन्छ। होइन भने सीमामा अलपत्र भएका नेपालीलाई सिमा नजिक रहेका नगरपालिका र गाउँपालिकाहरुले निर्माण गरेका क्वारेन्टाईनमा राख्न सकिन्छ।  त्यो काम पनि सहज र सरलरुपमा हुनसकेको छैन। सीमामा अलपत्र परेका नेपालीहरुले भारतको  क्वारेंनटाईनमा बसेको प्रमाणपत्र देखाउदा पनि  स्थानीय सरकार र प्रशासनले कुनै वास्ता नगरेको उनीहरुको गुनासो रहेको छ। अझै हजारौ नेपाली नेपाल आउन नेपाली दूताबास र भारत सरकारसंग हारगुहार गरि रहेका छन्।  

   मलेसिया सरकारको अध्यागमन विभागले पनि जनवरी १ तारिख यता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरिसकेको छ । डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुनेछ। मलेसियामा भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्न चाहनेको संख्या झण्डै ७ हजार रहेको दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।

  त्यस्तै गरि कतारका कम्पनीहरुले कामदारहरुलाई बोलाएर ‘ईन्ड अफ सर्भिस’ भन्दै पत्रमा हस्ताक्षर गराउन सुरु गरेको छ। कामदारले आफु कार्यरत कम्पनि छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई ‘ईन्ड अफ सर्भिस'(ग्राचुइटि) भनिन्छ। तर कम्पनीले नेपालको उडान नखुले सम्म खाने र बस्ने सुबिधा उपलब्ध गराउने बताएको छ। हाल ति कामदारहरु कोठामै बसेर दिन बिताइरहेका छन्। कतिपय कम्पनीहरुले काम नभएको भन्दै कर्मचारीहरुलाई फोर्स रिजाइन पनि दिन लगाएका छन्। रिजाईन दिएर सम्पूर्ण प्रक्रिया पुरा गरेका तथा प्रक्रिया बाकि रहेकाहरु पनि नेपाल सरकारले खाडी सहित ५५ मुलुकमा अन्तरास्ट्रिय उडान रद्द गर्दा समस्यामा परेका छन्। केहीसँग न जागिर छ,न घर जान नै सम्भव छ। अहिले उनीहरु धेरै समस्यामा छन्। 

        दुबईको ईमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकहरुले युएई स्थित नेपाली दुताबासमा धर्ना दिएका छन्। काम नपाएर अलपत्र परेको भन्दै उनीहरुले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन्। कुवेतमा झन्डै तिन हजार पाँच सय नेपाली स्थानीय आश्रयस्थलमा नेपाल सरकारको अनुमति कुरिरहेका छन्। उनीहरु आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदारहरु हुन्। खाडी मुलुक तथा मलेसिया सरकारले गैकानुनी हैसियतमा रहेका र दुइवर्षे  करार अवधि समाप्त भैसकेका कामदारलाई मात्रै फिर्ता गर्ने भएका छन्। ति मुलुकका सरकारले आफ्नो अर्थ व्यवस्थालाइ चलायमान राखिराख्न नियमित रोजगारीमा रहेका नेपालीसहित बिदेशी कामदारलाई स्वदेश पठाईहाल्ने नीति नलिएका हुन्। यो भने नेपाली कामदारको लागि राम्रो पक्ष हो। 

      कोरोना भाइरस (कोभिड -१९) को महामारीका कारण मध्यपुर्बका देशमा पनि नेपालीहरु समस्यामा परेको हुनाले उद्दार कार्य तत्काल गर्न नेपाल सरकारलाइ गैरआवासीय नेपाली संघले आग्रह गरेको छ।  युरोप र उत्तर अफ्रिकाको बिचमा सानो युरोपेली मुलुक माल्टा रोजगारीका लागी  गएका नेपालीहरु पनि अहिले अलपत्र परेका छन्।  

  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) संक्रमणका कारण गत सनिबार २ मे सांझसम्म मृत्युहुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ। भने संक्रमित ५ हजार २ सय ४७ जना रहेको जानकारी गैरआवासीय नेपाली संघको वेबसाइटमा राखिएको छ।

   वैदेशिक रोजगार विभागका अनुसार बिदेशमा रहेका ४ लाख ७ हजार नेपाली श्रमिक स्वदेश फर्किने अवस्थामा छन्।अवैध भएर बसेका तर सबन्धित मुलुकले माफी दिएका,भिसाको म्याद सकिएको र कामको सम्झौता सकिएका साथै कोरोना भाईरसका कारण रोजगारी गुमाएका नेपालीहरु पनि २ लाख बढीको संख्यामा छन्। 

    भारतले विदेशबाट स्वदेश फर्किने आफ्ना नागरिकहरुलाई हिजो देखि “बन्दे भारत मिसन “अन्तर्गत उद्दार गर्न सुरु गरेको छ। ति नागरिकहरुलाई भारतले हवाई र जल मार्गबाट उद्दार गरिने भारतीय मिडियाले जानकारी दिएको छ। जुन स्वदेश फर्किने नागरिक कोरोना भाइरसबाट संक्रमित छैनन् तिनलाई मात्र आफ्नो खर्चमा उद्दार गरिने भएको छ। साथै भारत आए पछि पनि ति सबै नागरिकहरु आफ्नै खर्चमा क्वारेनटाईन बस्नु पर्ने सर्त रहेको छ।

     भारतले अमेरिका,साउदी,मलेसिया,सिंगापुर,कतार,युएई,माल्दिप लगाएत देशहरुबाट भारतीय नागरिकलाई उद्दार गर्न सुरु गरेको छ।भारतले गोल्फ वारको समयमा पनि आफ्ना १ लाख ७० हजार नागरिकलाई युद्दबाट तत्काल उद्दार गरेको थियो। 

     तर नेपाल सरकारले नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई लिएर गएको नेपाल वायुसेवा निगमको जहाज रित्तै नेपाल फर्काएको छ। सयौं नेपालीले अस्ट्रेलियाबाट उद्दार गरिदिन गरेको आग्रह अस्विकार गर्दै सिड्नी पुगेको नेपाली ध्वजावाहक रित्तै फर्केको छ। नेपाली विमानमा फर्कन पाउ भन्दै हाल अस्ट्रेलियामा रहेका २ सय ८० भन्दा बढी  नेपालीले नेपाली दुतावासमा औपचारिक अनुरोध गरेका थिए। उनीहरुले आफु नेपाल फर्किने लाग्ने भाडा बेहोर्ने र नेपाल पुगेर नियमानुसार क्वारेनटाईन बस्ने तथा क्वारेन्टाइनका लागि लाग्ने खर्च पनि आफै बेहोर्ने प्रतिबद्धता जनाउदा समेत आफुहरुको मागको सुनवाई नभएको भन्दै गुनासो गरेका छन्। 

       विश्वभर रहेका नेपालीहरुको धेरै गुनासो रहेता पनि नेपाल सरकारले पनि भारतले मिसन चलाएर गरेको उद्दार जस्तै नेपाल सरकारले पनि योजनाबद्द ढंगबाट ” राष्ट्रियता उद्दार मिसन ” सुरु गर्नु पर्दछ। यसका लागि सबै मन्त्रालयहरुको सहकार्य र हामी सबै नेपालीहरुको साथ हुनु जरुरि छ।

     नेपाल सरकारले लकडाउनको समय सिमा बढ़ाएर मात्र पन्छिने अवस्था गुज्रिदै गएको छ। हिजो देखि आंशिकरुपमा लकडाउन खुकुलो पारे पनि अहिले सम्मको सरकारको कामलाई स्याबासी दिई हाल्न सकिदैन। लकडाउनको सहि पालना गराउन प्रशासनको साथै संघीय ,प्रदेश र स्थानीय सरकार चुक्नु,जसको कारण सिमा पार गरेर मानिसहरु  नेपाल दिनहु प्रवेश गरिरहेका छन्। स्वास्थ्य कर्मीलाई चाहिने आवस्यक स्वास्थ्य सामग्री समयमा उपलब्ध गराउन सरकारले सकेको छैन। स्वास्थ्य सामग्री प्रयाप्त मात्रामा उपलब्ध नहुदा कोरोना भाइरस संक्रमित  पिसिआर टेस्ट समुदायमा हुनसकेको छैन। सरकार अहिले कोभिड -१९ बिरुद्दको लडाई  बिना योजनामा अगाडी बढिरहेको आभास नेपाली जनतालाई भैरहेको छ। 

     अब सरकारले कोरोना भाइरस (कोभिड -१९ ) रोकथाम तथा उच्च स्तरीय समितिको मात्र भर नपरी युद्ध स्तरमा कोरोना भाइरस (कोभिड -१९) संग लड्न ठुलो हृदय राखी सबै राजनैतिक दल ,संघसंस्था ,बुद्धिजिबी र नेपाली जनतालाइ साथमा लिई हातेमालो गर्दै अगाडी बढ्नुको बिकल्प छैन। होइन भने बहुमतको सरकारको पनि नेपालमा कुनै अर्थ छैन भन्ने नेपाली जनतालाई लाग्यो भने हाम्रो देश नेपालको भबिस्य अन्धकारमय हुने सम्भावना बढेर जानेछ। त्यसैले हिजो राणा र राजाको बिरुद्धको आन्दोलनमा जसरी सारा नेपाली न्यायप्रेमी जनता विचारमा विभाजित नभई एक जुट भएका थिए। त्यसरी  नै अहिले को दुइ तिहाई सरकारले  यो कोरोना भाइरस (कोभिड -१९) संग लड्न सबै नेपालीलाई गोलबन्द गर्नु सक्नु पर्छ।