राष्ट्रिय टेलिभिजन प्रशारण संघद्धारा प्रदेश ५ का मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र


भैरहवा बैशाख ३०,
विश्वभर फैलिएको कोरोना संक्रमणको विपत्तिको बेला जोखिम मोलेर सुचनालाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएका टेलिभिजनहरुलाई आर्थिक संकटबाट जोगाउन प्रदेश ५ सरकारको ध्यानाकर्षण गरिएको छ ।
लकडाउनका कारण उद्योग धन्दा तथा व्यापार व्यवसाय बन्द हुंदा स्थानिय टेलिभिजनहरुको विज्ञापन बजार बन्द भएको भन्दै राष्ट्रिय टेलिभिजन प्रशारण संघले मुख्य मुन्त्री शंकर पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघको तर्फबाट भैरहवा संञ्चार गृह प्रालीका प्रबन्ध निर्देशक दिपेश पछाई नेतृत्वको प्रतिनिधि मण्डलले मुख्यमन्त्री शंकर पोख्रेललाई उक्त पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा यस्तो संकटको बेला टेलिभिजनहरु जोगाउन सरकारसंग आग्रह गरिएको छ ।
उक्त ध्यानाकर्षण पत्रमा टेलिभिजनहरुको नविकरण तथा रोयल्टी शुल्क मिनाह गर्नका लागि संघिय सरकारसंग समन्वय गरिदिन आग्रह गरिएको छ ।
त्यसैगरी प्रदेश सरकारले जारी गर्ने सूचना र विज्ञापन एकद्वार प्रणाली मार्फत सिधै संचारगृहहरुलाई समानुपातिक रुपमा वितरण गर्न आग्रह गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संकटको समयमा टेलिभिजनहरुलाई बचाउन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।
सो अवसरमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशी, बुद्ध टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, लुम्बिनी टेलिभिजनका स्टेशन प्रमुख दिनेश पाण्डे, बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख बिक्रम खड्का लगायतको सहभागिता रहेको थियो ।