सीमा रहे देश रहन्छ, नेपाल रहे नेपाली रहन्छौं ।

सुर्य कुमार सारु मगर

केहि दशक यता शीतयुद्ध पश्चात विश्वको राज्य सुरक्षाको अवधारणामा  ब्यापक परिबर्तन आएको देखिन्छ ।  राज्यको सीमा तथा सार्वर्भौमकताको रक्षा गर्ने मात्र उद्देश्य  रहेको परम्परागत अवधारणामा अहिले आएर राजनीतिक ,आर्थिक ,सामाजिक सुरक्षा तथा वातावरणिय चुनौती पनि थपिएको छ ।  शीतयुद्धको अन्त्यसम्म पनि सुरक्षा सैन्यवल तथा शक्ति परिचालनलाई मात्र प्रमुखता दिने गरिन्थ्यो ।

राज्य सुरक्षाको चुनौती भनेको केवल बाह्य आक्रमणको सम्भावनालाइ मात्रै मनिन्थ्यो तर आज विश्वमा बाह्य चुनौतीले मात्र राज्य तथा त्यसका जनतालाई असुरक्षित बनाएको छ ।  चरम गरीबि, हिंसात्मक द्वन्द ,वातावरण विनाश ,अपराधीकरण ,मानवाधिकार हनन् ,मानवीय क्षति, बढ्दो आन्तरिक विस्थापन तथा बाह्य बसाइसराई ,सरुवा रोग अनि महामारीले विकराल समस्याको रुप लिएको र असुरक्षा सिर्जना गरेको छ ।   यि कुराको रोकथाम गर्नु हरेक राष्ट्रको लागि चुनौती सावित भएको छ ।  अझ विकासशिल राष्ट्रका लागि त यस्ता चुनौती र समस्याको सामना गर्नु निकै कठिन कार्य भएको छ ।

राष्ट्रिय  सुरक्षाको अवधारणाको विकास सन १९४५ मा  संयुक्त राष्ट्र संघको स्थापना पश्चात् भएको हो । सन् १९४७ मा अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ऐन जारी भएपछि संसार भर यस अवधारणाको बिस्तार भएको हो ।  नेपालमा वि. स. २०४२ सालमा राष्ट्रिय मूल नीति २०४२ निर्माण गरि राष्ट्रिय सुरक्षा व्यवस्थापन गरिएको थियो ।

२०४७ सालको संविधानमा पहिलो पटक संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय स्थापना गरिएको थियो । हाल राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरि पेश भएको राष्ट्रिय सुरक्षा नीति २०७५ लाई सरकारले स्वीकार गर्दै कानुन निर्माण तर्फ अघि बढाएको छ ।  नेपालको राष्ट्रिय सुरक्षा संयुक्त राष्ट्र संघको वडापत्र, पञचशिलको सिद्धान्त र अन्तराष्ट्रिय सन्धि सम्झौताबाट निर्देशित रहेको छ ।

सबै थोक हुंदा पनि आफ्नो सीमाको रक्षा गर्न हामी किन चुकिरहेका छौं ? जब भारत र चीनले सीमा मिच्छ ,अनि सत्तामा बसेका होस् या बसेर छाडेका सबै नेताहरुले आआफ्नो डम्फु बजाउन लाग्छन् । सत्तामा हुंदा सम्म कुटनीतिक पहल र चासो नलिने । जब न्यायप्रेमी जनताले चासो लिन थाले पछि घांटी दुख्न्ने गरि संसद भवन  र सडकमा कुर्लिने दल र ति दलका नेताहरु देखेर नेपाली जनता अब वाक्क हुन थालिसकेका छन् ।

     सीमामा भएका नेपाली जनताको जग्गा भारतीयहरुले  र नेपालको भूभाग भारतले अतिक्रमण गर्दा सम्म सत्तामा बसेकाहरुले पहल गर्छु मात्र भनिरहेका छन् । कुनै पनि देशले आफ्नो सीमा रक्षाको लागि आफ्नो सैन्य दस्ता सीमामा २४ घण्टा पहरेदारको रुपमा परिचालन गरेको हुन्छ ।  तर नेपाल सरकारले भने भारतीय सीमा सुरक्षा बलले सीमाका नेपाली नागरिकहरुलाई पटक पटक दुवर््यवहार  र गोली प्रहार गरि हत्या हुंदा सम्म पनि कुनै वास्ता गरेको देखिदैन ।

२०७३ सालमा कन्चनपुरको पुनर्वासका गोबिन्द गौतमलाई भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि मृत्यु  हुंदा सरकार मौन नै बसेको थियो ।  त्यस्तै नवलपरासीको सुस्तामा पनि धेरै वर्षदेखि  भारतीय प्रहरी र भारतीय नागरिक मिलेर सुस्ता वासीलाई कुटपिटसंगै जग्गा अतिक्रमण भैरहेको छ ।  त्यसमा पनि नेपाल सरकार जानी जानी बेखवर जस्तै भएर बसिरहेको छ ।  विवाद हुंदाको बखत मात्र विज्ञप्ति निकाल्ने र राजदुतसंग कुराकानी गर्ने गर्दछ । 

नापी विभागको तथ्यांक अनुसार नेपाल भारत १८८० सय किलोमिटर  क्षेत्र सीमामा भारतले दुई किलोमिटर दुरीमा बिओपि राखेको छ भने नेपालले १७ किलोमिटरको दुरीमा प्रहरी राखेको छ ।  त्यहि  पनि अपुरो जनशक्ति लिएर । तर चीनसंग जोडिएको १४ सय किलोमिटर क्षेत्रमा झन् विकराल स्थिति छ ।  हुनत उत्तरी सीमा सम्बन्धि विवाद सतहमा नआए पनि ति क्षेत्रमा नेपाली सुरक्षा फौजको उपस्थिति शुन्य प्राय छ ।

अहिले सम्म चीनले भन्दा नेपालको भुमि पूर्व मेची देखि पश्चिम महाकाली सम्म ७१ ठांउमा भारतले  सीमा मिचेको बताउंछन्  नापी विभागका पुर्व निर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ ।  उनको अध्ययन अनुसार भारतसंग जोडिएका २६ जिल्लामा २३ जिल्लामा सीमा विवाद  छ ।  देशैभर गरेर नेपालको  ६० हजार ६ सय हेक्टर र  कालापानीमा मात्रै ३७ हजार हेक्टर जमिन भारतले अतिक्रमण  गरेको छ ।

 सीमा विवाद् अहिले भारतले लिपुलेक हुंदै मानसरोबर जाने सडक बनाउंदा भन्दा अघि देखि नै हो । तर सत्तामा बसेकाहरु भारतले पहिलो पटक सीमा मिचे जस्तै गरि सदन र सडकमा उफ्रिरहेका छन् । तिनका सबै नेपाली जनतालाई ढाट्ने खेल मात्र हो । सीमाविद् र नेपाली मिडीयाले त पटक पटक इश्यु उठाईरहेकै छन् ।  जब सत्तामा विराजमान हुन्छन् तब कसरी भ्रष्टााचार गर्ने मात्र धुन रहन्छ ।  ७१ ठाउंमा भारतले नेपाली भुमि अतिक्रमण गरेको भन्ने सबै नेपालीलाई थाहा छ  भने सत्तामा बस्नेले थाहा छैन भन्नु कति लाजमर्दो ।

सत्तामा बस्नेहरुले नीति नियम बनाएर लागु गर्ने हो । सीमा रक्षा गर्न त सरकारले सुरक्षाकर्मीलाई  नै हो तैनाथ गर्ने गराउने । जसरी भारतले सन् १९६५ मा पाकिस्तानसंगको युद्धको समयमा बोडर सेक्युरिटी फोर्स बिस्फ गठन गरि नेपालको सीमाना बाहेकमा त्यो फोर्सलाई सीमा निगरानीको लागि तैनात गरेको छ ।  त्यसगरी नेपाल सरकारले माओवादी जनयुद्ध मत्थर पार्न  सन २००१ मा सशस्त्र प्रहरी बल स्थापना गरेको थियो । अहिले नेपालमा शान्ति प्रक्रिया सकिएको छ ।  अब नेपाल सरकारले सीमामा तैनाथ रहेका जनपथ प्रहरीलाई हटाई सशस्त्र प्रहरी बललाई जिम्मेवारी दिनु पर्दछ ।  जसरी भारतले अहिले नेपालको सीमामा उनको सीमा सशस्त्र बल तैनाथ गरेको छ ।

 भारतको एस एस बि ले जसरी नेपाल भारत सीमामा हुने सबै गतिविधिको निगरानी र गलत कार्यलाई रोकी आफ्नो देशको सीमा रक्षाको लागि २४ घण्टा ड्युटी गरिरहेको हुन्छ ।  त्यसरी नै नेपाल सरकारले सशस्त्र प्रहरी बललाई सिमा रक्षाको लागि तैनाथ गर्नु पर्दछ ।

 लिपुलेकको  विवाद पश्चात नेपाल सरकारले दार्चुलाको छाङरुमा बि ओ पी स्थापना  गरेको छ तर लिपुलेकको विवादित सीमा भन्दा धेरै टाढा स्थापना गरेर नेपाली जनताको आंखामा छारो हाल्ने बाहेक केही हुदैन । किनकी स्थापना गरेको पोष्टबाट सीमाको कुनै गतिबिधि देखिदैन भने प्रहरी तैनाथ गरेको के काम ?

सीमामा हुने गतिविधिको निगरानी गर्न सरकारले सीमाको नजिकमै पोष्ट स्थापना गर्नु पर्दछ ।  त्यस्ता पोष्टहरुमा पुरा जनशक्तिका साथ सबै सुबिधा पनि सरकारले उपलब्ध गराउनु पर्दछ ।  अहिले कोरोना भाईरसको संक्रमणबाट बच्न सीमाको आउजाउ रोक्न बिना सुविधा आदेशको भरमा प्रहरी तैनाथ गर्नु हुदैन । तैनाथ भएका प्रहरीको आत्मविश्वासमा कमि महसुस हुनेछ ।  किन कि सीमामा उभिएको एक प्रहरीको इमान्दारीता र नैतिक पनले सारा नेपाली चैनसंग बस्न सक्नेछन् ।

 अहिले नेपालले चौतर्फी चुनौतीको सामना गरिरहनु परेको छ ।  तर पनि नेपाललाई हामी नेपालीले नै विकास गर्न सक्छांै । तर अब नेपालका नेताहरुले हिजो जस्तो आफ्नो स्वार्थ अनुसार कहिले चीनतिर  त कहिले भारततिर ढल्किने नीति छाड्नु पर्दछ ।  हिजोका दिन जस्तो भारत र चीन अहिले  विपरित धु्रर्बमा छैनन् । सानातिना दुवै देशका बीच समस्या होलान् । तर अहिले चीन कसरी शक्ति राष्ट्र बन्ने होडमा लम्किरहेको छ ।  विशेष गरेर १९८८ मा भारतका तत्कालिन प्रधानमन्त्री राजीव गान्धीको ऐतिहासिक चीन भ्रमणले दुवै देशले आफ्ना नीतिहरुमा धेरै परिवर्तन गरिरहेका छन् । तसर्थ नेपालले चीन र भारतका विदेशनीतिमा परिवर्तन गरि कसरी राष्ट्रको हित हुनेछ भन्ने बारेमा अगाडि बढ््नु पर्दछ । 

सरकारले नेपाल आर्मीलाई समय समयमा सीमा निगरानीको लागि गस्ती गराउनु पर्दछ । जनपथ प्रहरी,सशस्त्र प्रहरी र नेपाल आर्मीलाई हाम्रो सीमा रक्षाको लागि सधै परिचालन गर्ने हो भने सीमामा बसेका नेपाली नागरिकको साथै नेपाली भूमिको रक्षा हुनेछ ।  होइन् भने नेपाल सरकारले कुटनीतिक नोट र  बिज्ञप्ति दिइरहने उता सीमामा गोबिन्द गौतम जस्ता होनहार युवा एक्लै शहिद भैरहने छन् । त्यसैले अब भारतले गरेको अतिक्रमित भूमिको लागि  भारतसंग जोडदार कुटनीतिक पहल गर्दै, आउने दिनहरुमा हाम्रो नेपालको भूमिमा कसैले पनि बल मिचाई गर्न नसकोस् । त्यस्ता बल मिचाई प्रवृतिका लागि हामी सबै नेपाली आफ्नो देशका लागि सधै एकजुट हांैं । सीमा रहे देश रहनेछ ,अनि नेपाल रहे हामी नेपाली भएर बांच्ने छांै ।