नागरिकता संसोधन विधेयक पारित गराई संसदमा पठाउनु राष्ट्रलाई घात

भैरहवा, असार १३ । रुपन्देहीका विभिन्न राजनीतिक दलहरुले नागरिकता संसोधन विधेयक पारित गराई संसदमा पठाउनु राष्ट्रलाई घात गरे सरह भएको बताएका छन् । उनीहरुले बिना कुनै सर्वदलीय सहमति, नेपालको संविधानको मुल मर्म र मान्यताविपरीत केवल बहुमतको दम्भमा राज्य व्यवस्था समितिबाट विधेयक ल्याइएको भन्दै असहमति जनाएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व तथा विभिन्न राजनीतिक पार्टीका नेताहरुको उपस्थितिमा शनिबार भैरहवामा सम्पन्न बैठकले संविधानको रक्षा गर्न तथा महिलाको हकअधिकार सुनिश्चित गर्न विधेयकप्रति असहमति व्यक्त गरेको जनाएको छ ।

त्यस्तै बैठकले कोभिड–१९ को महामारीको समस्याले विश्व तथा राष्ट्र गुज्रिरहेको अवस्थामा सरकारद्वारा खर्च गरिएको रकम पूर्ण रुपले पारदर्शी नहुनु र नगर्नु भ्रष्टाचारको चरम नमुना भएको आरोप लगाएको छ । बैठकले लकडाउन अवधि लागु गरिएपश्चात हालसम्म संघीय, प्रदेश र स्थानीय सरकारले खर्च गरेका विवरण पारदर्शी ढंगले सार्वजनिक गर्न समेत माग गरेको छ ।

बैठकमा जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष राम अवतार यादव, अजय बर्मा,राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, राष्ट्रिय जनमुक्ती पार्टीका प्रेम गुरुङ, नेपाली कांग्रेश जिल्ला सचिव राम कृष्ण खाड, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, जनता समाजवादी पार्टीका जिल्ला सचिव मोहम्मद इस्लाम, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता रवी कुमार रौनियार, नेपाली कांग्रेश सिनपा अध्यक्ष मातृका यादव, राप्रपा युवा संघ जिल्ला सभापती शंकर खत्री लगायतको सहभागिता रहेको थियो ।