नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको राजिनामा माग

भैरहवा, साउन ८ । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको राजिनामा माग गरिएको छ । सिद्धार्थ जेसिजका निवर्तमान अध्यक्ष राकेश गुरुङले  नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा उनक सचिवालयको राजिनामा माग गरेका हुन् ।

अशोक शंकर र उनको सचिवालयको अवैधानिक निर्णयका कारण अहिले सिद्धार्थ जेसिजमा बिवाद उत्पन्न भएको छ । जेसीआई नेपालका अध्यक्ष अशोक शंकरको एकलौटी निर्णयका कारण सिद्धार्थ जेसिजमा बिवाद उत्पन्न भएको आरोप गुरुङको छ ।

गुरुङ नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पनि हुन् । गुरुङका अनुसार केन्द्रले हस्तक्षेप गरेर शाखाको अध्यक्ष चयन गर्नु गलत हो । गुरुङले अन्तराष्ट्रिय जेसिजले २० जुलाइ २०२० मा नेपाल जेसिज अध्यक्ष-संचालक समिती वा सचिवालय अधिकार भन्ने प्राप्त पत्रमा कुनै पनि शाखामा अध्यक्ष मनोनित बाट नहुने, शाखाको साधारण सभा अधिवेशनमा शाखाकै सदस्यहरुबाट चयन हुने र नेपाल जेसिजले शाखा निर्वाचन सम्बन्धमा कुनै पनि किसिमको हस्तक्षेप नगर्ने सल्लाह मात्र दिन सक्ने भनेता पनि नेपाल जेसिजका अध्यक्ष शंकरले सिद्धार्थ जेसिजको अध्यक्ष मनोनित गर्नु गलत भएको बताए ।

यस्तै राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङले नेपाल जेसिजले आर्थिक अनियमितता गरेको कुरा समेत बाहिर ल्याएका छन् । गुरुङका अनुसार नेपाल जेसिजले पिएमसिसि मार्फत डेढ करोड रुपैया आर्थिक अनियमितता गरेको कुरा बाहिर ल्याएका हुन् । गुरुङले नेपाल जेसिजले घर बहाल कर बापतको रकम २ करोड ४८ लाख नतिरेको दावी गरे । गुरुङले नेपाल जेसिज आफै अनियमित कार्य गर्दै आएकोमा शाखामा पनि बिवाद सिर्जना गरेर जेसिज जस्तो इतिहास बोकेको समाजिक संस्था बदनाम गराउन लागिपरेको दावी गरे ।