कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि रुपन्देहीमा क्विक रेस्पोन्स टिम र ईमिडिएट रेस्पोन्स टिम

भैरहवा, साउन ३२ । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि रुपन्देहीमा क्विक रेस्पोन्स टिम र ईमिडिएट रेस्पोन्स टिम गठन गर्ने निर्णय भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला स्तरिय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा “क्विक रेस्पोन्स टिम” र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा “ईमिडिएट रेस्पोन्स टिम” गठन गर्ने निर्णय गरेको जानकारी रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडकाले दिनुभयो ।

खड्काले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय पालिका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ लगायत सदस्य रहने गरि “क्विक रेस्पोन्स टिम” गठन गरिएको जानकारी दिए ।

कोभिड महामारीमा जिल्ला स्तरीय रुपमा यसले काम गर्नेछ । यस्तै पालिका स्तरीय रुपमा “ईमिडिएट रेस्पोन्स टिम” ले काम गर्नेछ । यसमा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानिय प्रहरी, स्वास्थ्यकर्मि लगायतको टिम सदस्यको रुपमा रहने छ ।