कोरोना संक्रमण देखिएपछि निगमको भलवारी डिपो र भैरहवा पेट्रोल पम्प बन्द

भैरहवा, साउन ३२ । नेपाल आयल निगमको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि निगमको भलवारी डिपो र भैरहवा पेट्रोल पम्प बन्द भएको छ । आइतवार निगमका १० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको हो । 

निगमको भलवारी डिपोका ३, भैरहवा पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको आयल निगम लिमिटेड ५ नम्बर प्रादेशिक कार्यालय, भलवारी, रुपन्देहीका प्रमुख इञ्जिनियर सुरज साहले बताए ।साहका अनुसार भलवारी डिपो, भैरहवा पेट्रोल पम्प र हवाइ इन्धन डिपो गरी करिब ७० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निगमका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हाललाई पम्प बन्द गरिएको शाहले बताए ।  नेपाल आयल निगम पेट्रोल पम्प, भैरहवाका प्रमुख गोविन्द चौधरीले  कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हाललाई पम्प बन्द गरिएको बताए । यस अघि पनि गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।