एकै घरका १५ जनामा कोरोना संक्रमण भएपछि चैनपुर गाउँ शिल

भैरहवा, भदौ १६ । रोहिणी गाउँपलिकाले चैनपुर गाउँ शिल गरेको छ। गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि चैनपुर गाउँ शिल गरेको हो ।

धकधई बजारदेखि उत्तर चैनपुरटोलमा कोरोना भाइरस समुदायमा फैलिएका कारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ दिनको लागि पूर्ण रुपमा निषेधित गरिएको छ। गाउँमा एकै परिवारका १० जना र मलामी गएका ५ जना गरि १५ जनामा संक्रमण देखिएपछि चैनपुरटोललाई भदौ १५ गते देखि भदौ २० गते राति १२ बजेसम्म निषेधित क्षेत्र कायम गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए।

उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजिटिभ देखिएको थियो। मृत्यु पछि र अन्तिम संस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो। १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताए ।