रामलखन जयसवालको मृत्यु शंकास्पद, छानविन गर्न भैरहवाका संघ सस्थाको माग

भैरहवा, असोज ७ । कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागारमा रहेका रुपन्देहीका रामलखन जयसवालको मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गरिएको छ । जयसवाल सेवा समिति सिद्धार्थनगरले बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर शर्मा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाउदै जयसवालको मृत्यु शंकास्पद भएको भन्दै सत्य तत्थ सहित छानविनको माग गरेको हो ।

मृतक जयसवाल जयसवाल सेवा समिति सिद्धार्थनगरका पुर्व अध्यक्ष समेत हुन् । सिद्धार्थनगर नगरपालिका वडा नं ५ का पुर्व अध्यक्ष समेत रहेका जयसवालको मृत्यु माथी प्रश्न उठाउदै समितीले छानविनको माग गरेको जानकारी समितीका अध्यक्ष सन्तोष कुमार जयसवालले दिए । समितीले ज्ञापन पत्र बुझाउने क्रममा छानविनको माग गर्दै बैश्य समाजले एक्यबद्धता पत्र समेत बुझाएको छ ।

कर्तव्यज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्षदेखि कैदभुक्तान गरिरहेका रुपन्देहीको भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृत्यु भएको हो। दीर्घरोगी रहेका जयसवालको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय कारागारले जनाएको छ।

‘वीर अस्पताल काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको जेल प्रशासनले जनाएपनि जयसवाल परिवारले हत्या भएको दाबी गरेको छ। उनको कारागारमै मृत्यु भइसकेपछि अस्पताल ल्याइएको हो या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भन्ने विषयमा शंकास्पद भएको उनको परिवारको भनाई छ। सामान्य रुघाखोकी रहेको जयसवालमा मृत्युपछि सोमबार कोरोना रिर्पोट पोजिटिभ आएको अस्पतालले उनीहरुलाई बताएको छ।

जयसवालको परिवारले उठाएको प्रश्नमा भैरहवा स्थित जयसवाल सेवा समिती सहित नेपाल बैश्य कल्याण महासंघ रुपन्देही, रुपन्देही नागरिक समाज सिद्धार्थनगर, कान्दु बैश्य सेवा समिती रुपन्देही, अग्रहरी सेवा समिती लगायत संघ संस्थाले समेत एक्यबद्धता जनाउदै छानविनको माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउने क्रममा भैरहवाका सामाजिक अगुवा आनन्द प्रसाद गुप्ता, अर्जुन प्रसाद जयसवाल, अजय कुमार गुप्ता, मनोज अग्रहरी, रवि कुमार रौनियार, दुर्गा गुप्ता, श्रीराम गुप्ता, तारकेश्वर कान्दु, अमित गुप्ता लगायतको उपस्थिती रहेको थियो ।