साइकल लेनको माग

कोरोना संक्रमणको माहामारीका कारण लामो समय देखि पर्यटन क्षेत्र थलिएको छ । रुपन्देहीको लुम्विनी पनि यसको चपेटा बाट अछुतो रहन सकेन ।

आइतवार भने रुपन्देहीमा पर्यटन दिवसको अवशर पारेर लुम्विनीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल र्याली निकालियो । साइकल र्याली भैरहवा देखी लुम्बिनी सम्म करिव २३ किमीको दुरीमा भएको हो ।

साइकल र्यालीको आर्को उद्देश्य लुम्विनी क्षेत्रलाई साइकल मैत्री बनाई दिगो सहरी व्यवस्थापनप्रति सरकारलाई दबाब दिनु पनि रहेको थियो । साइकल सिटी भैरहवाको आयोजनामा भएको र्यालीमा ७७ साइकल यात्रीको सहभागिता रहेको थियो ।

साइकल सिटी भैरहवाकका अध्यक्ष सुर्य कुमार सारु मगरका अनुसार अहिले रुपन्देहीको भैरहवा–लुम्विनी सडकखण्ड विस्तारमा साइकल लेन पनि बनाउन माग र्यालीको रहेको छ । मगरले देशभर निर्माण हुने सडकमा साइकल लेन अनिवार्य हुनुपर्ने बताए ।

साइकल चढ्ने बानीको विकास गराउन भन्दै भैरहवा देखी लुम्विनी सम्म र्याली निकालिएको हो । लुम्विनीको वातावरण संरक्षणमा साइकलिङले ठुलो टेवा पुर्याउने साइकल यात्रीहरुको भनाई छ । साइकल चलाउन इन्धन चाहिँदैन । शारीरिक बलमा चल्ने भएका कारण कसरत हुन्छ । कसरतले मान्छेलाई स्वस्थ बनाउँछ । त्यसैले साइकल चलाउनु फाइदाजनक छ’ साइकल यात्रीहरुले भने ।

साइकल चलाउन चाहना भए पनि पूर्वाधार नभएका कारण चलाउन मन नगर्नेहरु पनि छन् । ‘व्यस्त सहरमा एकै रुटमा ठूला गाडी र साइकल चलाउँदा दुर्घटनाको खतरा रहन्छ । त्यसैले साइकल लेन माग राखेको साइकल यात्री बिजय खरेलको भनाई छ ।

भैरहवाको बुद्ध चोक देखि शुरु भएको र्यालीमा बुटवल, तिलोत्तमा लगायत क्षेत्रका साइकल यात्रीहरुको सहभागिता रहेको थियो । लुम्विनीमा र्यालीको स्वागत मायादेवी मन्दिर परिसरमा लुम्विनी बिकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले गर्नु भएको हो । उपाध्यक्ष त्रिपाठीले पर्यटन दिवसको अवशरमा गरिएको साइकल र्याली सकारात्मक भएको बताउनुभयो । त्रिपाठीले साइकल लेनको माग प्रति कोष सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

साइकल लेन समृद्ध र स्मार्ट सहरको सूचक हो । असुरक्षित सडकमा साइकल चलाउने चाहना धेरैलाई छैन । त्यसैले साइकल लेन मागेका हौं’ साइकल यात्रिहरुले भने । उनिहरुले रुपन्देहीमा बन्ने सडकमा साइकल लेन अनिवार्य रुपमा राख्न माग गरे ।