मन्त्री हेरफेरबारे कांग्रेस–एमालेका शीर्ष नेताबीच छलफल

काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच मन्त्री फेरबदल र अन्य विषयमा छलफल भएको छ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए।
बैठकमा प्रधानमन्त्री ओलीले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव राखे। उनले भने, “केही मन्त्रीको कार्यसम्पादन राम्रो भएन, केही विवादित पनि भए। सरकार गठन भएको एक वर्ष भइसकेकाले नयाँ मन्त्री ल्याउँ, पुरानालाई बिदा गरौँ।”
तर, देउवाले पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने भन्दै तत्काल मन्त्री नफेर्न आग्रह गरे। उनका अनुसार, “पार्टीमा बल्ल बल्ल मिलाएको थिएँ, फेरि विवाद निम्त्याउनु आवश्यक छैन। तपाईंले बदल्नुस्, हाम्रालाई छोडिदिनुस्।”
एमालेले सरकार गठनपछि दुई मन्त्री—शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता—पहिले नै परिवर्तन गरिसकेको छ। भट्टराईको स्थानमा रघुजी पन्त र गुप्ताको स्थानमा भगवती न्यौपाने नियुक्त भएका छन्।
कांग्रेसले भने अहिलेसम्म मन्त्री परिवर्तन गरेको छैन। बैठकमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक, र संघीय निजामती कर्मचारी विधेयकबारे पनि छलफल भएको भए पनि कुनै निष्कर्ष निकालिएको छैन।