Bhairahawa Online Logo
World

अलास्कामा ट्रम्प–पुटिन वार्ता, युद्धविराम घोषणाबिनै अन्त्य

Share:
Bhairahawa Online
अलास्कामा ट्रम्प–पुटिन वार्ता, युद्धविराम घोषणाबिनै अन्त्य
pic : Flickr

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न वार्ता युद्धविराम घोषणामा पुग्न सकेन। यद्यपि, दुवै नेताले छलफललाई ‘सकारात्मक प्रगति’ भएको भन्दै आगामी भेटमा थप उपलब्धि हुने आशा व्यक्त गरे।

संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन फर्किए भने पुटिन मस्कोतर्फ प्रस्थान गरे।

पुटिनले युक्रेन युद्धलाई ‘दुःखद अवस्था’ भन्दै यसको अन्त्यमा आफू गहिरो चासो राखेको बताए। तर, उनले ‘युद्धका मूल कारण समाधान नगरेसम्म स्थायी शान्ति सम्भव छैन’ भन्दै युरोप र युक्रेनलाई वार्तामा बाधा नपुर्याउन चेतावनी दिए। पुटिनले यस भेटलाई ‘समाधानतर्फको सुरुवाती चरण’ भएको उल्लेख गर्दै ट्रम्पसँगको सम्बन्धलाई ‘व्यावसायिक’ भने।

ट्रम्पले वार्तामा धेरै बुँदामा सहमति भए पनि ‘केही महत्त्वपूर्ण विषय’ अझै बाँकी रहेको बताए। उनले आफ्नो प्राथमिकता भएको एउटा संवेदनशील मुद्दामा सहमति हुन नसकेको बताए, तर विस्तारमा भने खुलाएनन्।

अलास्का यात्रा अघि नै उनले युद्धविराम घोषणा गर्ने इच्छा व्यक्त गरेका थिए। तर, घोषणाबिनै मञ्च छोड्दा उनी पूर्ण रूपमा सन्तुष्ट देखिएनन्।

दुवै नेता करिब १० मिनेटसम्म संयुक्त सम्बोधनमा उभिएर वार्तामा प्रगति भएको दाबी गरे पनि ठोस सम्झौतामा पुग्न सकेनन्। ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।

वार्ताको अन्त्यमा ट्रम्पले ‘सायद छिट्टै फेरि भेट हुने’ उल्लेख गरे भने, पुटिनले अर्को भेट ‘मस्कोमा’ गर्न सकिने संकेत दिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News