भुटानसँग बराबरीमा रोकियो नेपाल, यु–२० महिला एसियन कप छनोटको सुरुवात बराबरीबाट

थिम्पु, भुटान | एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ।
थिम्पुस्थित चाङ्लीमिथान रंगशालामा भएको खेलको प्रारम्भिक मिनेटमै नेपालले अग्रता लिएको थियो। बायाँपट्टि सुक्रिया मियाले दिएको उत्कृष्ट क्रसलाई पूर्णिमा राईले हल्का टच दिँदै सेनु परियारले फिनिस गर्दै नेपालका लागि पहिलो गोल दर्ता गरेकी थिइन्।
तर, नेपालको अग्रता लामो समय टिक्न सकेन। खेलको १८औं मिनेटमा भुटानी खेलाडी क्याल्डेन वाल्मुले तीन जना नेपाली डिफेन्डर र गोलकिपरलाई छक्याउँदै गोल गर्दै खेल बराबरीमा ल्याइन्। बाँकी समयमा दुवै टिमले गोलको प्रयास गरे पनि सफलता हात पार्न सकेनन्। खेलको दोस्रो हाफमा पूर्णिमा राईको प्रयासले जाल चुमे पनि अफसाइडको निर्णयले नेपालले अग्रता बढाउने मौका गुमायो।
यसअघि महिला यु–२० फर्म्याटमा नेपालले भुटानलाई सधैं पराजित गर्दै आएको थियो। २०२३ को साफ यु–२० च्याम्पियनसिपमा नेपालले भुटानमाथि ४–०, ६–१ र ८–० जस्ता ठूला अन्तरले जित निकालेको थियो।
नेपालले अब आफ्नो दोस्रो खेल अगस्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ भने छनोट चरणको अन्तिम खेल उत्तर कोरियासँग अगस्ट १० मा हुनेछ।