विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने

काठमाडौं — नेपालले पहिलोपटक महिला टि-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्न लागेको छ। काठमाडौंस्थित माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने यो प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा विभिन्न १० देशका महिला टोली सहभागी हुनेछन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ भने खेल तालिका चाँडै सार्वजनिक हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले जनाएको छ। सहभागीमध्ये शीर्ष ४ टोलीले इंग्ल्यान्ड र वेल्समा हुने सन् २०२६ को महिला टि-२० विश्वकपमा स्थान बनाउनेछन्।
यो नेपालले अहिलेसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हो। एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपाल छनोट भइसकेका छन्। नेपालले पहिलोपटक एसिया छनोट पार गर्दै ग्लोबल चरणमा प्रवेश गरेको हो।
प्रतियोगितामा सन् २०२४ को महिला टि-२० विश्वकपमा सहभागिता जनाएका आयरल्यान्ड र बंगलादेशले स्वतः छनोटको स्थान सुरक्षित गरेका छन्। अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भइसकेको छ।
यस्तै, अफ्रिका र युरोपबाट दुई–दुई टोली र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट भएर प्रतियोगितामा सहभागी हुनेछन्। ती क्षेत्रीय छनोट प्रतियोगिता हालै सम्पन्न हुने चरणमा छन्।
यो प्रतियोगिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहुँच र सम्भावनामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।