दुई पटक राष्ट्रपति भएकी व्यक्तिले पार्टीमा समस्या ल्याउँछिन् भन्ने सोचेको थिएन : ओली

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीभित्र असन्तोष बढाएको आरोप लगाएका छन्।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले दुई–दुई पटक राष्ट्रपतिमा निर्वाचित गराएको व्यक्तिले फर्केर पार्टीमै समस्या सिर्जना गर्ने कल्पना पनि नभएको बताए। उनले भण्डारीलाई संगठन बलियो बनाउनुपर्नेमा असन्तुष्ट पक्षलाई भेला गरेको आरोप लगाए।
ओलीले भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको स्पष्ट पारे। उनका अनुसार भण्डारीले २०७२ सालमा राष्ट्रपति बन्न सदस्यता परित्याग गरेकी थिइन्। “सदस्यता राख्ने मन भए राष्ट्रपति हुन जानु हुँदैनथ्यो। छोडेर जाने अनि अहिले आएर नवीकरण हुन्छ भनेर दाबी गर्न मिल्दैन,” ओलीले भने।
पूर्वराष्ट्रपतिले पार्टी कार्यालय खोलेर कार्यक्रम गर्न थालेकोप्रति पनि ओलीले आपत्ति जनाए। उनले भण्डारीले फैलाएको भनिएको ‘भ्रममा नपर्न’ कार्यकर्तालाई आग्रह गरे।