डिङ्गरनगर सहकारी घोटालाः अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध किटानी जाहेरी, बचतकर्ताले राजनीतिक संरक्षणको आरोप

रुपन्देही – तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा ठूलो वित्तीय अनियमितता बाहिरिएपछि अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। बचतकर्ताहरूको तर्फबाट गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएको हो।
प्रहरीका अनुसार किटानी जाहेरीपछि अनुसन्धान अघि बढाइने र प्रमाण संकलन भएपछि अभियोग दायर गरिनेछ। यसअघि पराजुली एक सातासम्म प्रहरी हिरासतमा बसेर रिहा भएका थिए भने अध्यक्ष र सचिवविरुद्ध दुई साताअघि नै अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। तर उनीहरू अझै फरार छन्, जसका कारण पीडितले राजनीतिक संरक्षणको आशंका व्यक्त गरेका छन्। तिवारी स्थानीय कांग्रेस नेता भएकाले उनलाई बचाउने प्रयास भइरहेको आरोप पनि बचतकर्ताले लगाएका छन्।
अडिट रिपोर्टअनुसार सहकारीबाट करिब १२ करोड रकम हिनामिना र २५ करोड भन्दा बढीको अपचलन भएको पुष्टि भएको छ। साथै, ३४ करोडभन्दा बढी ऋण प्रवाह गर्दा मात्र करिब ९ करोड बराबरको सम्पत्ति धितो राखिएको देखिएको छ, जसका कारण २१ करोडभन्दा बढी रकम जोखिममा परेको छ।
रिपोर्टले व्यवस्थापक पराजुलीले करिब ४ करोड ७० लाखको अनियमितता गरेको र व्याजसहित ४ करोड ८० लाखभन्दा बढी रकम असुल गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै, सञ्चालक समितिले पनि करिब ८ करोड २७ लाखको अनियमितता गरेको भन्दै रकम जिम्मा लिनुपर्ने सुझाव राखिएको छ।
अध्यक्ष र सचिव लामो समयदेखि फरार रहँदा बचतकर्ताहरू आफ्नो रकम फिर्ता पाउने आशंकामा छन्। उनीहरू दैनिक बैठक र छलफल गर्दै सहकारी घोटालामा संलग्नलाई कानूनी कारबाही गर्न दबाब दिइरहेका छन्। यस प्रकरणमा प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख र वरिष्ठ अधिकृत दुवैले सम्पर्क नगरेपछि सो कार्यालय पनि राजनीतिक दबाबमा परेको शंका बलियो बनेको छ।