एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा हटाउने प्रस्ताव पारित

काठमाडौं, साउन ४ – नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टीको विधान संशोधन गर्दै नेतृत्वका लागि तोकिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पारित गरेको छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। अब एमालेको विधान अनुसार कुनै पनि व्यक्तिले उमेरको आधारमा वा कार्यकालको सीमाका कारण नेतृत्वमा प्रतिबन्धित हुने छैन।
संशोधित विधानअनुसार अब एमालेमा सङ्गठित र साधारण गरी दुई प्रकारका सदस्यता रहनेछ। जिल्ला कमिटीहरू कार्यकारी कमिटीका रूपमा सञ्चालन हुनेछन् भने नयाँ संरचना अनुसार संगठनात्मक कामलाई थप व्यवस्थित गरिने बताइएको छ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा भूमिकाबारे पनि छलफल भएको थियो। केही नेताहरूले पूर्वराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउने विचार राखे भने केहीले विरोध जनाए। पोलिटब्युरो सदस्य आनन्द पोखरेलले भण्डारीलाई निषेध नगरी खुला रूपमा पार्टीमा स्वागत गर्नुपर्ने धारणा राखे।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको आगामी नेतृत्वबारे समेत बहस भएको थियो। नेता महेश बस्नेतले आगामी महाधिवेशनमा ओलीले नै नेतृत्व गर्नुपर्ने बताए। अर्का नेता गोकुल बास्कोटाले पार्टीभित्रको असमझदारी समाधान गर्न ओली र भण्डारीबीच छलफल आवश्यक रहेको धारणा राखे।
विधान संशोधनबाट पुराना नेताहरूको पुनः सक्रियता सुनिश्चित भएको भन्दै केही नेताहरूले नयाँ पुस्ताका लागि अवसर संकुचित भएको टिप्पणी गरेका छन्।