कुशल मल्लको पुनरागमनसहित टप एन्ड टी–२० टिम घोषणा

काठमाडौं – अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। आगामी अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि कुशल मल्लले पुनरागमन गरेका छन्। उनी स्कटल्यान्ड टुरमा टिमबाट बाहिरिएको केही समयपछि पुनः टिममा फर्किएका हुन्।
यस प्रतियोगितामा नेपालसहित ११ टिमले प्रतिस्पर्धा गर्नेछन्। नेपालले आफ्नो पहिलो खेल अगस्ट १५ मा नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ। टिममा आदिल आलम र अनिल कुमार शाह भने स्थान बनाउन असफल भए। लामो समयपछि प्रशिक्षणमा फर्किएका आलमले अन्तिम सूचीमा अट्न सकेनन्।
प्रतियोगितामा नेपालबाहेक पाकिस्तान शाहिन्स (ए), बंगलादेश ए, अमेरिकाको शिकागो किङ्समेन र अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टिम (पर्थ स्कोचर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनिगेट्स, एसीटी कोमट्स) ले सहभागिता जनाउनेछन्। स्थानीय टिम एन्टि स्ट्राइक पनि प्रतिस्पर्धी हुनेछ। लिग चरणमा टप ४ टिम सेमिफाइनलमा पुग्ने छन्। नेपालले यो सिरिजलाई अक्टोबरमा हुने टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको छ।
नेपाली टोली: रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, ललित नारायण राजबंशी।