काश्मीरमा बादल फाटेपछि बाढी, दर्जनौँको मृत्यु

भारतको जम्मु–काश्मीरको किष्टवार जिल्लामा बिहीबार बिहान बादल फाटेपछि आएको भीषण बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ र थुप्रै घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार उद्धार कार्य जारी रहेको छ, तर केही मानिस अझै बेपत्ता छन्।
जिल्ला आयुक्त पंकजकुमार शर्माले भने, “हालसम्म ३४ शव फेला परिसकेका छौं र ३५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। अझै केही व्यक्तिहरु हराइरहेका छन्।”
स्थानीय बासिन्दा सुशील कुमारले एएफपीसँगको कुराकानीमा भने, “मैले आफ्नै आँखाले १५ जना मृतकलाई अस्पतालमा ल्याइएको देखेँ।”
मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरे र तीव्र वर्षाका कारण भएको क्षतिप्रति चिन्ता प्रकट गरे। लगातारको वर्षा र सडक ध्वस्त भएकाले उद्धार टोलीलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।
यसअघि पनि भारतका हिमाली तथा पहाडी क्षेत्रमा मनसुनको समयमा बाढी, पहिरो र अन्य वर्षाजन्य विपद्को जोखिम उच्च हुने गरेको छ। विज्ञहरूले जलवायु परिवर्तन र अव्यवस्थित विकासलाई यस्ता घटनाहरूको आवृत्ति र तीव्रता बढ्नुको मुख्य कारण मान्ने गरेका छन्।