विद्यालयको छत भत्किँदा बालबालिकाको मृत्यु, पाँच शिक्षक निलम्बन

साउन १०, २०८२
राजस्थान, भारत – भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित एक सरकारी विद्यालयमा भवनको छत अचानक भत्किँदा तीन बालबालिकाको ज्यान गएको छ। घटनामा ३० भन्दा बढी विद्यार्थी र शिक्षक घाइते भएका छन्।
मनोहर प्रहरी चौकी नजिकै रहेको उक्त विद्यालयमा बिहीबार दिउँसो भएको दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धारकार्य गरेका थिए। घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको छ भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
राजस्थानका शिक्षामन्त्री मदन दिलावरले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन्। घटनापछि शिक्षा विभागले लापरबाही देखिएको भन्दै पाँच जना शिक्षकलाई निलम्बन गरेको छ। जिल्ला शिक्षा अधिकारी नरसिंह मीनाले प्रारम्भिक अनुसन्धानका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। विद्यालय भवनको संरचनात्मक कमजोरीका कारण दुर्घटना भएको आशंका गरिएको छ।