Bhairahawa Online Logo
News

विश्वप्रकाश शर्माको टिप्पणी : "रास्वपाले सदनको मर्यादा तोड्दैछ"

Share:
Bhairahawa Online
विश्वप्रकाश शर्माको टिप्पणी : "रास्वपाले सदनको मर्यादा तोड्दैछ"

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसदीय मर्यादा पालन गर्न आग्रह गरेका छन्। उनले रास्वपाको व्यवहारले लोकतान्त्रिक परिपाटीलाई असर पुर्याएको टिप्पणी गरे।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै उनले रास्वपाका सांसदहरू सधैं सदनमा आफ्नो कुरा राख्ने र त्यसपछि बैठक बहिष्कार गर्ने शैली दोहोर्याइरहेको बताए। “संसदमा कुरा राख्ने ठाउँ छ, समाधान खोज्ने प्रक्रिया पनि त्यहीँबाट सुरु हुन्छ। तर बारम्बार बहिष्कार गर्ने चलन संसदीय मर्यादा विपरीत हो,” उनले भने।

शर्माले कुनै पनि विषयलाई आवेग वा आक्रोशको भरमा हेर्न नहुने उल्लेख गर्दै रास्वपा सांसदहरूलाई ‘अराजक शैलीबाट मुक्त हुन’ सुझाव दिए।

त्यस्तै, उनले रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर संकलन अभियानप्रति गम्भीर प्रश्न उठाए। अदालतले कसैलाई दोषी नठहराए पनि धरौटीमा छुट्नु न्याय पाउनु भन्ने होइन, उनले तर्क गरे। “यदि थुनामा पठाउँदा प्रतिशोध भयो भनिन्छ भने, धरौटीमा छुट्दा न्याय भयो भन्न मिल्दैन,” शर्माको भनाइ थियो।

उनले लामिछानेले विगतमा टेलिभिजन कार्यक्रममार्फत अदालतको आदेश उल्लंघन गर्नेहरूलाई आक्रमण गरेको स्मरण गराउँदै भने, “अहिले अदालतको आदेशविरुद्ध हस्ताक्षर गरेर कसलाइ दबाब दिन खोजिएको हो?”

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News