Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओलीको टिप्पणी : “व्यवस्थाभित्र छिरेर आगो लगाउने प्रयास भइरहेको छ”

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओलीको टिप्पणी : “व्यवस्थाभित्र छिरेर आगो लगाउने प्रयास भइरहेको छ”

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा भइरहेका अवरोधप्रति लक्षित गर्दै लोकतान्त्रिक प्रणालीको नाममा अराजक प्रवृत्ति बढेको टिप्पणी गरेका छन्। आइतबार पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको पुस्तक ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरन्तर अवरोधको संकेत गर्दै संविधानभित्र बसेरै व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्ति गलत रहेको बताए।

उनले भने, "कानुनी व्यवस्था भित्र स्वतन्त्र अभिव्यक्ति दिने अधिकार हुँदाहुँदै पनि व्यवस्थाभित्रै छिरेर त्यसैमा आगो लगाउन खोजिएको देखिन्छ। यो निन्दनीय छ।"

ओलीले लोकतन्त्रको अभ्यासमा देखिएका कमजोरीहरूलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिंदै सरकार सेवा प्रवाहको संयन्त्र भएको र जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए। "सरकार शासक होइन, सेवक हो। हामीको ध्येय सुशासन र समृद्धि हो। यदि कोही अराजक भएन भने सरकारले जबर्जस्ती कानुन लगाइरहनु पर्दैन," प्रधानमन्त्री ओलीको भनाइ थियो।

त्यस्तै, उनले निर्वाचनमा अत्यधिक खर्च भइरहेको भन्ने टिप्पणीहरूको खण्डन गर्दै आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा कहिल्यै निर्वाचन प्रक्रियामा हस्तक्षेप नगरेको दाबी गरे। “स्वच्छ निर्वाचनका लागि आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिएको थिएँ,” उनले स्मरण गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन प्रक्रियामा देखिएका खर्चिलो प्रवृत्तिको आलोचना गरेका थिए, जसको जवाफस्वरूप ओलीले आफ्नो अनुभव साझा गरेका हुन्।

प्रधानमन्त्रीको यो टिप्पणी संसद्‍मा रास्वपाले गरेका निरन्तर बहिष्कार र विरोधका सन्दर्भमा आएको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News