Bhairahawa Online Logo
News

‘कुलिङ अफ पिरियड’ विवादपछि सभापति खतिवडाको राजीनामा

Share:
Bhairahawa Online
‘कुलिङ अफ पिरियड’ विवादपछि सभापति खतिवडाको राजीनामा

काठमाडौं — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै समितिको नेतृत्व छाडेको घोषणा गरे।

खतिवडाले त्रुटि आफूबाट नभएको दाबी गर्दै पनि, प्रतिवेदनमा हस्ताक्षर गरेको नाताले जिम्मेवारी लिनु उपयुक्त ठानेको बताए। उनले सभापतिको हैसियतमा पाएको सवारीसाधनलगायत सुविधा सचिवालयमा फिर्ता गरेको समेत जानकारी दिए।

विवादको जडमा रहेको विधेयकमा दुई वर्षे ‘कुलिङ अफ पिरियड’ प्रावधान समितिमा सहमत भए पनि संसदमा प्रस्तुत प्रतिवेदनमा त्यसको उल्लेख नभएपछि प्रश्न उठेको थियो। कांग्रेस सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि खतिवडालाई नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो।

कांग्रेस नेतृत्वको आग्रहपछि राजीनामाको निर्णय लिएको खतिवडाले संवैधानिक संयन्त्रलाई निष्पक्ष र दुरुस्त बनाउने आफ्नो चाहना रहेको बताए। साथै, संशोधन प्रक्रियामा कर्मचारीतन्त्रलाई प्रभाव पार्ने खेल भएको हुनसक्ने आशंका पनि व्यक्त गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News