चितवन राइनोजले सार्वजनिक गर्यो नयाँ लोगो, गैंडालाई प्राथमिकता

बिहीबार, साउन ८, २०८२
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) की फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। एनपीएलको दोस्रो संस्करणलाई लक्षित गर्दै टिमले गैंडालाई प्रमुख प्रतीकका रूपमा प्रस्तुत गर्दै लोगोमा नयाँ पहिचान स्थापित गरेको हो।
बुधबार जारी प्रेस विज्ञप्तिमा टिमले "चितवन सहरभन्दा गैंडा—राइनोज—को प्रतीकलाई प्राथमिकतामा राख्दै नयाँ लोगो सार्वजनिक गरिएको" जनाएको छ। चितवन राइनोजका अनुसार नयाँ लोगो केवल दृश्यात्मक परिवर्तन नभई टिमको आत्मा, भावना र फ्यानहरूसँगको सम्बन्धको प्रतिनिधि हो।
गैंडा: टिमको आत्मा र राष्ट्रिय गर्व
विज्ञप्तिमा उल्लेख छ, “गैंडा चितवनको मात्र होइन, सिंगो देशको गर्व हो। यही प्रतीकलाई अँगाल्दै टिम दोस्रो संस्करणमा अझ आत्मविश्वासका साथ उत्रन तयार छ।” टिमले पछिल्लो सिजनमा मस्कट मिस्टर गैंडाले कमाएको लोकप्रियताले यो निर्णयमा थप प्रेरणा दिएको बताएको छ।
फ्यानसँग नजिकिन खोजेको लोगो
राइनोजका अध्यक्ष आयुष न्यौपानेका अनुसार, “नयाँ लोगोले फ्यानहरूको भावना, टिमको मर्म, र गैंडासँगको आत्मीय सम्बन्धलाई अझ स्पष्टता दिएको छ। मिस्टर गैंडाको लोकप्रियता हाम्रो लागि संकेत थियो—हाम्रो प्रतीक यही हुनुपर्छ भन्ने।”
खेलाडी रिटेन र रिलिज
दोस्रो संस्करणका लागि चितवन राइनोजले ६ खेलाडीलाई रिटेन गरेको छ। मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी टिममै रहने छन्। यस्तै, शरद भेषवाकर, दीपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जित कुमार र सलाउद्दिन खानलाई रिलिज गरिएको छ।
नयाँ लोगोमार्फत टिमले दोस्रो संस्करणमा थप ऊर्जा, एकता र पहिचानसहित मैदानमा उत्रन तयार रहेको संकेत दिएको छ।