प्रधानमन्त्रीको मधेस भ्रमण : सुक्खा संकट दीर्घकालीन समाधानतर्फ सरकार

श्रावण ११, २०८२ वीरगन्ज / महोत्तरी
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस क्षेत्रको सुक्खा समस्यालाई स्थायी समाधान गर्न सरकार दृढताका साथ अगाडि बढेको बताएका छन्। शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले मधेस प्रदेशलाई आधिकारिक रूपमा संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए।
उनले भने, "चुरे क्षेत्रमा तत्काल संरक्षणको काम थालिएन भने मधेसमा भविष्यमा पानी अभाव अझ गम्भीर बन्न सक्छ।" उनले चुरे क्षेत्रमा ताल, पोखरी र पानी संकलन संरचनाहरू निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रधानमन्त्रीका अनुसार सुनकोशी–मरिन डाइभर्सन सिँचाइ परियोजना मार्फत १ लाख ८५ हजार बिघा जग्गा सिँचाइको दायरामा ल्याउने तयारी भइरहेको छ। उनले देशको समग्र विकास गति बढेको दाबी गर्दै, स्मार्ट सिटीको संख्या बढाउने, कृषिमा आधुनिकीकरण ल्याउने र किसानको आम्दानी वृद्धि गर्न सरकार क्रियाशील रहेको बताए।
महोत्तरी जिल्लामा उनले प्रसूतिगृह, पुल तथा अन्य पूर्वाधारहरूको पनि उद्घाटन गरे। स्थानीय कृषकहरू सिँचाइ र पिउने पानीको समस्याबाट हैरान भइरहेका बेला प्रधानमन्त्रीको यो भ्रमणलाई राहतको संकेतको रूपमा हेरिएको छ।
उनले भने, "सरकारले ५ सय डिप बोरिङ जडान गर्ने योजना अघि सारेको छ, जसबाट प्रत्येक बोरिङले ६० बिघा जमीनमा सिँचाइ सम्भव हुनेछ।"
मुख्यमन्त्री सिंहको आग्रह : पानीका लागि तत्काल सहकार्य आवश्यक मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सिँचाइ र पिउने पानीको गम्भीर अभावबारे जानकारी दिँदै प्रदेश सरकार आफ्नै स्रोतबाट दमकल प्रयोग गरेर घर–घरमा पानी पुर्याइरहेको बताए। "तर, प्रदेशको आफ्नै स्रोत अपुग छ," उनले भने, "संघीय सरकारको साथबिना दीर्घकालीन समाधान सम्भव छैन।"
स्थानीय जनप्रतिनिधिको भावना मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले प्रधानमन्त्रीको उपस्थितिलाई ऐतिहासिक अवसरको रूपमा लिँदै, संकटका बेला यहाँ आइपुगेकोमा धन्यवाद व्यक्त गरे। “प्रधानमन्त्री स्वयंले अवस्थालाई नजिकबाट हेरेर प्रत्यक्ष ध्यान दिनु गर्वको कुरा हो,” मेयर मण्डलले भने।
