प्रधानमन्त्री ओलीको पहल: सूर्यविनायकमा नयाँ रंगशाला निर्माणको तयारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक क्षेत्रमा नयाँ सुविधा सम्पन्न रंगशाला निर्माणका लागि प्रारम्भिक छलफल गरेका छन्।
आज बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधिहरूसँग रंगशालाको सम्भाव्यता र आवश्यक तयारीबारे परामर्श गरेका हुन्।
हालको दशरथ रंगशालाले ठूला खेलकुद कार्यक्रम सम्हाल्न सक्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले ठूलो क्षमताको रंगशाला निर्माण गर्न नयाँ स्थानमा पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बैठकमा सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८, जगातेस्थित करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको पुरानो इँट्टा टायल कारखानाको जग्गा प्रस्ताव गरेको छ। यो जग्गामा कम्तीमा ५० हजार दर्शक अट्ने आधुनिक रंगशाला बनाउने लक्ष्य लिइएको बताइएको छ।
बैठकमा सूर्यविनायक नगर प्रमुख वासुदेव थापा, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ सहभागी थिए।
प्रधानमन्त्री ओलीले रंगशाला निर्माणलाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
