Bhairahawa Online Logo
News

पूर्वराष्ट्रपति भण्डारीको भनाइ : ‘म अझै एमालेमै छु, निर्णय भावनामा गरिएको’

Share:
Bhairahawa Online
पूर्वराष्ट्रपति भण्डारीको भनाइ : ‘म अझै एमालेमै छु, निर्णय भावनामा गरिएको’

श्रावण १०, २०८२ | काठमाडौं

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफू अझै पार्टीमै रहेको स्पष्ट पारेकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्यता औपचारिक रूपमा नवीकरण गरिसकेको बताउँदै आफूलाई एमालेबाट अलग देखाउने निर्णय आवेग र हठको उपज भएको टिप्पणी गरिन्।

भण्डारीले भनिन्, “राष्ट्रपतिको कार्यकाल सकिएपछि मैले पार्टीमा पुनः क्रियाशील हुने निर्णय लिँदै विधिपूर्वक सदस्यता नवीकरण गरेकी हुँ। यो प्रक्रिया केहीको व्यक्तिगत चासो वा आवेगमा रोक्न सकिने विषय होइन।”

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उत्पन्न विवादबारे सार्वजनिक धारणा राख्दै उनले भनिन्, “पार्टी नियम, संविधान र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार यस्तो निर्णय न वैध छ, न त परिपक्व।”

उनले एमालेप्रति आफ्नो प्रतिबद्धता अझै कायमै रहेको दोहोर्‍याइन्। “मलाई मदन भण्डारीले स्वयम् पार्टीको सदस्यता दिएकी थिए। ४५ वर्षको योगदान एकाएक मेटिँदैन,” भण्डारीको भनाइ थियो।

भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत दिए पनि आगामी रणनीति वा भूमिका भने खुलाएकी छैनन्। उनले राजनीतिक सहभागिता आफ्नो संवैधानिक अधिकार भएको भन्दै, “राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक पार्टीमा आबद्ध हुने चाहना कुनै अपवाद होइन। संविधानले यस्तो अधिकार प्रत्याभूत गरेको छ,” भनिन्।

उनले पार्टी कार्यकर्ताहरूलाई मूल्यमान्यता, सिद्धान्त र विचारप्रति अडिग रहन आह्वान गरेकी छन्। “म विचलित हुने छैन। मेरो आग्रह आन्तरिक विश्वासको अभिव्यक्ति हो। अब पार्टी निर्माणका लागि अझ दृढ भएर अघि बढ्न समय आएको छ,” उनले भनिन्।

यसअघि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीले एमालेमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्, जसपछिको राजनीतिक उतारचढाव अझ पेचिलो बनेको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News