नाइजेरियामा सशस्त्र आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

कानो (नाइजेरिया) – जामफारा राज्यको बुक्कुयुम जिल्लास्थित आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको मृत्यु भएको छ। मृतकमध्ये ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकारी रहेका छन्।
शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले गाउँमा हमला गर्दै केही बासिन्दालाई अपहरण गरेका थिए। अपहरितको उद्धारमा खटिएको सुरक्षा टोलीमाथि घात लगाएर गोली प्रहार गरिएको स्थानीय सांसद हामिसु फारुले जानकारी दिएका छन्।
उनका अनुसार, आक्रमणपछि हमला गर्नेहरू नजिकैको वन क्षेत्रमा लुकेका छन्, जसले शव संकलनमा कठिनाइ भइरहेको छ। थप आक्रमणको भयले कैयौँ बासिन्दा घर छाडेर विस्थापित भएका छन्। फारुका अनुसार सो वन क्षेत्रमा पाँच हजारभन्दा बढी आपराधिक समूहका सदस्य लुकेर बसेका छन् र वरपरका बस्तीहरूमा निरन्तर आक्रमण गरिरहेका छन्, जसलाई नियन्त्रणमा ल्याउन हवाई कारबाही आवश्यक देखिएको छ।
नाइजेरियामा सन् २०१५ देखि यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सेना परिचालित भए पनि हिंसा रोकिएको छैन। संघीय र प्रादेशिक सरकारले वार्ता तथा शान्ति सम्झौता गर्ने प्रयास बारम्बार गरे पनि ती सम्झौता दीर्घकालीन हुन सकेका छैनन्। पछिल्लोपटक सरकार समर्थित केही धर्मगुरुहरूले प्रभावशाली समूहसँग वार्ता गरे पनि स्थानीय बासिन्दाले त्यसप्रति पूर्ण विश्वास देखाएका छैनन्।