ट्रम्पको स्पष्ट सन्देश : युक्रेनी भूभागबारे निर्णय केवल जेलेन्स्कीकै अधिकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने आगामी वार्तामा युक्रेनी भूभागको विषयमा कुनै सम्झौता नहुने बताएका छन्।
अलास्कामा हुने बहुप्रतिक्षित भेटअघि आयोजित बैठकमा ट्रम्पले भूभाग सम्बन्धी निर्णय युक्रेनकै राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको सहमतिमा मात्र हुने प्रष्ट पारे। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंका अनुसार ट्रम्पले दुई मुख्य सन्देश दिएका छन् — पहिलो, वार्ताबाट युद्धविराम सम्भव बनाउने, र दोस्रो, भूभाग सम्बन्धी विषय युक्रेनकै हातमा रहने।
यसअघि ट्रम्पले रूस र युक्रेनबीच सीमाको अदलाबदली हुन सक्ने बताएका थिए, तर यसपटक उनले यस्तो विकल्प अस्वीकार गर्दै युद्धविरामपछि मात्र भूभागबारे छलफल हुने धारणा राखेका छन्।
बैठकमा ट्रम्पले युक्रेनको सुरक्षाका लागि अमेरिकी समर्थन र सुरक्षा ग्यारेन्टीको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे। साथै, वार्ता असफल भए रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए। उनले रूससँग तेल किन्ने मुलुकहरूमाथि थप प्रतिबन्ध लगाउने सम्भावनाको संकेत पनि गरे।